१६ दिने अभियानको सन्देश
हिंसा व्यक्तिको लागि मात्रै हैन, परिवार, समाज अनि राज्यको प्रगतिको बाधक हो । लिङ्गको आधारमा कही कसैलाई हिंसा गरिनु हुदैन । सामाजिक अभियन्ता भएर काम गरिरहदा विभिन्न चुनौतिहरु सामना गर्नु त परेकै छ । तर आफूमाथिको हिंसा विरुद्ध बोल्न नसक्ने सर्वसाधारण व्यक्ति माथि हुने हिंसाको घटनाको तुलनामा हामी माथि आउने चुनौतीलाई हामीले सामन्य नै मान्दै आएका छौ । लैङ्गिक समानता, मानव अधिकार र सामाजिक न्यायको कुरा गरिरहँदा पनि समाजमा हुने हिंसा, विभेद र उत्पीडनका घटनामा अपेक्षित कमी आउन सकेको छैन। घरभित्रैदेखि सार्वजनिक स्थल, कार्यस्थल, शैक्षिक संस्था र पछिल्लो समय डिजिटल माध्यमसम्म हुने हिंसाका स्वरूप विस्तार भइरहेका छन्। हिंसाका घटना सार्वजनिक भइरहँदा पनि पीडितले न्याय पाउन कठिन हुने, सामाजिक प्रतिष्ठाका नाममा घटना लुकाइने र पीडकले उन्मुक्ति पाउने प्रवृत्ति कायमै छ।
आजबाट हामी हिंसा विरुद्धको अभियानमा छौ । यस वर्ष लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ हामी अभियानमा जादै गर्दा यो १६ दिने अभियान केवल औपचारिक कार्यक्रम नभई समाजको सोच, संरचना र व्यवहार परिवर्तन गर्ने साझा प्रतिबद्धताको अवसर हो। हिंसाको घटनाको प्रतिकार गर्ने, कानूनी उपचारको समेत सुनिश्चितता हुन थालेपछि हिंसाको घटनाहरु लुकाउने दरमा कमी आएको छ, प्रतिकार गर्नेहरुले साहश गर्न थाल्नुभएको छ। यद्यपि यो अभियानमा अझै धेरै गर्न बाँकी छ । यसो त २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन मात्रै यो अभियान जारी छैन । वर्षैभरी हरेक दिन, हरेक पद सबै प्रकारको हिंसा विरुद्धको अभियान जारी छ ।
तर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यो अभियानको विशेष एउटा पर्वको रुपमा महत्व छ। नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस र डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाइन्छ। यो बीचमा अपाङ्ता दिवस, एड्स दिवस, मर्यादित महिनावारी दिवस समेत समेटिन्छन् ।
सन् १९९१ देखि सुरु भएको यस अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र समुदायलाई एकै ठाउँमा उभ्याउने प्रयास गर्दै आएको छ। मानव अधिकारको संरक्षण र लैङ्गिक समानताको सुनिश्चितताबिना समतामूलक समाज निर्माण सम्भव छैन भन्ने सन्देश नै यस अभियानको मूल मर्म हो।
नेपालको सन्दर्भमा यस अभियानको औचित्य अझ गम्भीर छ। संविधानले समानताको हक, महिलाको हक र हिंसाविरुद्धको संरक्षणलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको धारा १८ ले समानताको हक, धारा ३८ ले महिलाको हक र धारा ३९ ले बालबालिकाको हक सुनिश्चित गरेको छ। महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै प्रकारको हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने संवैधानिक व्यवस्था छ। त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुने र पीडितलाई क्षतिपूर्ति पाउने हकसमेत संविधानले सुनिश्चित गरेको छ।
यसका अतिरिक्त घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ लगायतका कानुनी व्यवस्थाले हिंसाका विभिन्न स्वरूपलाई अपराधका रूपमा परिभाषित गरेका छन्। नेपालले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धिलगायतका अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धतासमेत स्वीकार गरेको छ। अर्थात्, लैङ्गिक हिंसा नियन्त्रण र पीडितको संरक्षणका लागि नेपालमा कानुनी तथा नीतिगत आधारको अभाव छैन। समस्या कानुनको प्रभावकारी कार्यान्वयन, संस्थागत जवाफदेहिता र सामाजिक व्यवहार परिवर्तनमा देखिएको छ।
नेपाल प्रहरीको तथ्याङ्कले पनि हिंसाको भयावह अवस्थालाई उजागर गर्छ। प्रहरीको तथ्याङ्कले हिंसा घरबाहिरका अपरिचित व्यक्तिबाट मात्रै हुँदैन भन्ने स्पष्ट पार्छन्। आफ्नै परिवार, आफन्त र चिनजानकै व्यक्तिबाट महिलाहरू बढी असुरक्षित हुने अवस्था चिन्ताजनक छ। घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, दाइजोका नाममा हुने यातना, बोक्सीको आरोप, मानव बेचबिखन, जबर्जस्ती विवाह, आर्थिक शोषण र सामाजिक बहिष्करण लैङ्गिक हिंसाका विभिन्न स्वरूप हुन्। शारीरिक चोट नदेखिए पनि निरन्तर अपमान, धम्की, नियन्त्रण, मानसिक यातना र आर्थिक अधिकारबाट वञ्चित गराउने कार्य पनि हिंसाकै रूप हुन्। त्यसैले हिंसालाई कुटपिट वा यौनजन्य अपराधमा मात्र सीमित गरेर बुझ्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
पछिल्लो समय प्रविधिको विकाससँगै लैङ्गिक हिंसाले नयाँ स्वरूप लिएको छ। सामाजिक सञ्जालमार्फत चरित्र हत्या, अश्लील तथा निजी तस्बिर सार्वजनिक गर्ने धम्की, अनुमति नलिई तस्बिर वा भिडियो प्रसारण, साइबर दुव्र्यवहार, अनलाइन यौन शोषण र डिजिटल माध्यमबाट गरिने धम्की महिलाका लागि नयाँ चुनौती बनेका छन्। विशेषगरी किशोरी, युवा महिला, सार्वजनिक जीवनमा सक्रिय महिला र सञ्चारकर्मीहरू यस्तो दुव्र्यवहारको जोखिममा छन्। डिजिटल माध्यममा हुने हिंसालाई सामान्य मजाक, व्यक्तिगत विवाद वा सामाजिक सञ्जालको स्वाभाविक व्यवहार ठान्ने प्रवृत्ति गलत छ।
डिजिटल हिंसाले पनि व्यक्तिको आत्मसम्मान, मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र सार्वजनिक जीवनमा सहभागितामाथि गम्भीर असर पारेको छ । प्रविधिको प्रयोगसँगै डिजिटल सुरक्षा, साइबर कानुनको प्रभावकारी कार्यान्वयन र पीडितको गोपनीयता संरक्षणलाई प्राथमिकता दिनुपर्छ।
लैङ्गिक हिंसाको अर्को गम्भीर पक्ष पीडितले न्याय प्राप्त गर्न भोग्नुपर्ने कठिनाइ हो। घटना सार्वजनिक गर्दा परिवार र समाजले नै पीडितलाई दोषी ठहर्याउने, मेलमिलापका नाममा दबाब दिने, चरित्रमाथि प्रश्न उठाउने र सामाजिक प्रतिष्ठाको डर देखाएर मौन बस्न बाध्य पार्ने प्रवृत्ति अझै विद्यमान छ। कतिपय अवस्थामा आर्थिक परनिर्भरता, बालबच्चाको भविष्य, परिवारबाट अलग हुनुपर्ने डर र सुरक्षित आश्रयको अभावले पीडितलाई हिंसात्मक सम्बन्धमै बस्न बाध्य बनाउँछ।
प्रहरीमा उजुरी दर्ता भए पनि अनुसन्धानमा ढिलाइ, प्रमाण सङ्कलनमा कमजोरी, न्यायिक प्रक्रियाको लामो अवधि र पुनःस्थापनाका लागि पर्याप्त सहयोग नहुँदा पीडितले दोहोरो पीडा भोग्नुपरेको छ। न्याय प्रणाली पीडितमैत्री, संवेदनशील र प्रभावकारी नबनेसम्म कानुनी व्यवस्थाको वास्तविक अर्थ स्थापित हुन सक्दैन।
हिंसा अन्त्यको अभियानलाई महिलाको मात्र मुद्दा बनाउनु पनि उचित हुँदैन। लैङ्गिक हिंसा शक्ति सम्बन्धमा रहेको असमानता, पितृसत्तात्मक सोच, महिलालाई कमजोर ठान्ने सामाजिक मान्यता र पुरुषप्रधान निर्णय प्रणालीसँग जोडिएको विषय हो। त्यसैले पुरुष र बालकलाई पनि हिंसाविरुद्धको अभियानमा जिम्मेवार सहभागी बनाउनुपर्छ। छोरालाई छोरीसरह सम्मान गर्न, घरायसी काम र जिम्मेवारीमा समान सहभागिता जनाउन, महिलाको स्वतन्त्रता र निर्णय अधिकार स्वीकार गर्न तथा हिंसाजन्य व्यवहारको प्रतिवाद गर्न सिकाउने काम परिवारबाटै सुरु हुनुपर्छ। विद्यालयको पाठ्यक्रम, सामाजिक शिक्षा र सामुदायिक अभियानले पनि समानता, सहअस्तित्व र पारस्परिक सम्मानका मूल्य स्थापित गर्नुपर्छ।
यस सन्दर्भमा तीनै तहका सरकारको जिम्मेवारी महत्वपूर्ण छ। स्थानीय तह नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने सरकार भएकाले लैङ्गिक हिंसा रोकथाम र पीडित संरक्षणमा यसको भूमिका अझ प्रभावकारी हुन सक्छ। स्थानीय तहले लैङ्गिक हिंसा निवारण कोषको प्रभावकारी परिचालन, सुरक्षित आवास, मनोसामाजिक परामर्श, निःशुल्क कानुनी सहायता, स्वास्थ्य उपचार तथा आर्थिक पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ। न्यायिक समितिलाई कानुनी अधिकार र जिम्मेवारीबारे सक्षम बनाउनुका साथै प्रहरी, स्वास्थ्य संस्था, विद्यालय, महिला तथा बालबालिका शाखा र नागरिक समाजबीच समन्वय स्थापित गर्नुपर्छ। हिंसाका घटना लुकाउने वा मिलापत्र गराएर जिम्मेवारीबाट पन्छिने होइन, पीडितको सुरक्षा र न्यायलाई केन्द्रमा राखेर काम गर्ने संस्थागत संस्कार विकास गर्नुपर्छ।
सञ्चारमाध्यमको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ। हिंसाका घटनालाई सनसनीपूर्ण शीर्षक, पीडितको पहिचान खुल्ने विवरण र संवेदनहीन भाषामा प्रस्तुत गर्नु पत्रकारिताको जिम्मेवारी होइन। पीडितको गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिँदै घटनाका कारण, कानुनी प्रक्रिया, राज्यको जवाफदेहिता र न्याय प्राप्तिको अवस्थाबारे खोजमूलक समाचार तथा विश्लेषण प्रकाशित गर्नुपर्छ। हिंसाविरुद्ध जनमत निर्माण गर्नु, गलत सामाजिक मान्यतालाई चुनौती दिनु र पीडितका आवाजलाई स्थान दिनु सञ्चारमाध्यमको सामाजिक दायित्व हो।
अन्ततः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सफलता सडकमा निकालिने ¥याली, गोष्ठी, भाषण र नाराको सङ्ख्याले मापन गरिनु हुँदैन। हिंसाका घटनामा कमी आयो कि आएन, पीडितले सहज रूपमा न्याय पाए कि पाएनन्, महिलाले घरदेखि सार्वजनिक जीवनसम्म सुरक्षित र सम्मानित महसुस गर्न सके कि सकेनन् भन्ने आधारमा यसको उपलब्धि मूल्याङ्कन हुनुपर्छ।
अभियानका १६ दिन सकिएपछि पनि हिंसाविरुद्धको प्रतिबद्धता रोकिनु हुँदैन। कानुन कागजमा होइन, व्यवहारमा कार्यान्वयन हुनुपर्छ । पीडितले सहानुभूति मात्र होइन, सुरक्षा र न्याय पाउनुपर्छ । र समाजले मौनता होइन, अन्यायविरुद्ध आवाज उठाउने संस्कार विकास गर्नुपर्छ। हिंसा सहनु सामाजिक बाध्यता होइन, हिंसा गर्नु अपराध हो भन्ने चेतना प्रत्येक नागरिकमा स्थापित गर्न सके मात्र लैङ्गिक समानता र मानव मर्यादामा आधारित सभ्य समाजको निर्माण सम्भव हुनेछ।
हिंसा विरुद्ध लाग्ने सामाजिक संघसंस्थाहरु समाजको आधार हुन् । यि संस्था संगठन तथा व्यक्तिहरुलाई यही समाजले साथ दिने होस्टेमा हैसे गरिदिने गर्नु पनि जरुरी छ । मावनअधिकार रक्षकहरुलाई समाजले साथ दिएमा मात्रै कानूनको पालना र कार्यान्वयनमा कडाइ हुन सक्छ । मावनअधिकार रक्षकहरु तथा अभियन्ताहरुसँग सँगै हातेमालो गर्दै समाजलाई हिंसाको भुमरीबाट माथि उठाऔं । आउनुहोस् न्यापूर्ण समाज, मानवतायुक्त फराकिलो परिवेश बनाउन हातेमालो गरौ । हिंसा विरुद्ध मौनता तोडौं ।
अभियान बारे छोटो पृष्ठभूमी
सन १९६० को नोभेम्बर २५ का दिन डोमानिकन रिपब्लिकका मिरावल परिवारका ३ साहसिक दिदी बहिनी पार्टिया, मनिर्भा र मारियाको तात्कालिन त्रिजुलो सरकारले गरेको हत्याको दिनको संझनामा यो दिवस मनाउन शुरु गरिएको थियो । तत्कालिन सरकारको तानाशाही शासनका बिरुद्धमा आवाज उठाएका ती दिदी बहिनीका श्रीमानलाई सरकारले बन्दी बनाएको र श्रीमानहरुलाई जेलमा भेटेर फर्कने क्रममा निर्मम हत्या गरी दुर्घटनाको संज्ञा दिईएकोमा अधिकारकर्मीले त्यस घटनालाई स्वीकार गरेनन् र त्यसको विरुद्ध आवाज उठाईरहे ।
Unforgeable Butterflies को उपनामले चिनिने ती तीन दिदी बहिनीहरुको बलिदानी त्याग र उच्च साहसको सम्मान गर्दै सन् १९९१ मा Center For Global Leadership (CWGL) को सहयोगमा विभिन्न २० देशका २३ जना उत्साहित महिलाहरुको एक समुहले शुरु गरेकोे लैङ्गिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ तारिख (महिला हिंसा बिरुद्धको दिवस) देखि शुरु भई डिसेम्बर १० तारिखका दिन (अन्तराष्ट्रिय मानव अधिकार दिवस) १६ दिनसम्म मनाउने गरिन्छ र यस बीचमा अन्य विभिन्न दिवसीय कार्यक्रमहरु समेत रहेका छन् ।
त्यसको झण्डै तीन दशक पछि सन १९९९ डिसेम्बर १७ मा UNO ले ७४ सदस्य राष्ट्रबाट प्रस्तावित लैङ्गिक हिंसा बिरुद्धको दिवसीय अभियानलाई महासभाबाट सर्वसम्मत पारित गरी मान्यता प्रदान गरे पश्चात विश्वव्यापी रुपमा यसको थप महत्व बढ्न गएको पाईन्छ ।
नेपालमा लैङ्गिक हिंसा बिरुद्धको अभियान
महिला तथा बालिकाको मानव अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाच्न पाउने हक सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म (मंसिर ९ देखि २४ गतेसम्म) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आइरहेको छ ।
नेपाल सरकारको मिति २०६६।५।२६ को निर्णय अनुसार सन् २०१० लाई लैङ्गिक हिंसा विरुद्धको वर्ष” को रुपमा मनाउन घोषणा गरेको र सो बमोजिम “लैङ्गिक हिंसा विरुद्ध राष्टिय कार्ययोजना २०१० समेत १ वर्षका लागि कार्यान्वयन भईसकेको छ । सो कार्ययोजनाको कार्यान्वयनबाट केही नीतिगत तथा संरचनागत उपलब्धि हासिल भएता पनि लैङ्गिक हिंसा तथा विभेद सामाजिक विकृतिजन्य समस्या भएकोले यस कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता सहित दीर्घकालिन योजनाको रुपमा ल्याउनुु पर्ने महशुस गरिएको छ।
यस वर्ष “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने अन्तराष्ट्रिय नारासाथ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना गरि मनाईएको छ ।
सेतो रिवन अभियान
सन १९८९ डिसेम्बर ६ का दिन क्यानडाको मोन्छेरल विश्वविद्यालयको पोलिटेन्किन कलेजमा मार्क लेपिन नामक एक २५ वर्षे युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेको थियो । बन्दुक र धारिलो हतियार सहित कलेजको तेश्रो तलामा पुगेको ती युवकले छात्राहरुलाई छात्रबाट अलग गरी तिमिहरुलाई यहा बस्ने अधिकार छैन भन्दै एकतर्फ जम्मा गरी हत्या गर्न शुरु गरेका थिए ।
त्यस पछि अन्य कोठामा गई छात्राहरु खोजी खोजी हत्या गरी अन्त्यमा आफूले समेत आत्महत्या गरे । घटनास्थलमा भेटिएको सुसाइड नोट अनुसार उनी महिलाहरु प्रति निकै आक्रोसित रहेको र देशका विभिन्न १९ जना महिलाहरुको हत्या गर्ने लिष्ट समेत तयार गरेको पाइएको थियो ।
यसै घटनाको संझनामा क्यानडाका केही उत्साहित युवाहरुको प्रयत्नमा सन १९९१ मा जम्मा ६ हप्ताको तयारीमा करिव १ लाख व्यक्तिहरुको सहभागितामा महिला हिंसा बिरुद्ध पुरुषहरुलाई जागरुक बनाउने उद्धेश्यले अंग्रजी वर्णमालाको Violence को V अक्षर लाई उल्टो बनाउदा हुने आकारमा लगाईने सेतो रिवन “म हिंसा गर्दिन, म आफू हिंसा सहन्न र देखेमा प्रतिकार गर्दछु (Zero Tolerance)” को मान्यता र प्रतिबद्धतामा आधारित अभियान हो ।
यो रिवन खास गरी १६ दिने अभियानमा लगाउने गरिन्छ र युरोपका केही मुलुकहरुमा १६ दिने अभियानको अवधिमा संसदमा समेत सेतो रिवन लगाउने प्रचलन रहेको पाईन्छ ।
लैङ्गिक हिंसाको परिभाषा
CEDAW का अनुसार “महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा र बिभेद भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक वा अरु कुनै विषय सम्बन्धी मानव अधिकार तथा स्वतन्त्रतालाई आफ्नो वैवाहिक स्थिति जे जस्तो रहेको भएता पनि पुरुष र महिलाको समानताको आधारमा उपभोग गर्नमा वा प्रयोग गर्नमा व्यवधान पार्ने वा त्यसको मान्यतालाई नै क्षति वा शून्य पार्ने उद्धेश्य भएको, लिङ्गकाे आधारमा हुने कुनैपनि भेदभाव वा बहिस्कार वा प्रतिबन्ध सम्झनु पर्दछ ।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न बनेको ऐन, २०७२ ले कानुनमा लैङ्गिक हिंसाको परिभाषा समेटेको छ जस अनुसार “लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लि·को आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउन कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिकको आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य, वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट बञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ” भन्ने परिभाषा गरेको छ ।
लैङ्गिक हिंसा अन्त्यका लागि अन्तरराष्ट्रिय प्रतिबद्धताहरु
– मानव अधिकारको बिश्वव्यापी घोषणा १९४८
– नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६
– जातीय भेदभाव उन्मुलन सम्बन्धी महासन्धि १९६९
– महिला बिरुद्द हुने सबै किसिमका भेदभाव उन्मुलन गर्ने महासन्धि, १९७९
– बेइजिंग घोषणा तथा कार्ययोजना १९९५
– संयुक्त राष्ट्र संघ सुरक्षा परिषद प्रस्ताव नं. १३२५ र १८२०
– दीगो विकासका लक्ष्य, २०१५ – २०३०
लेखक हिमराइट्स मकवानपुरको प्रमुख हुन् ।


