मकवानपुर । बाल्यकालदेखि क्रीकेट खेल भनेपछि खाना नै छोडेर दौडिन्थे रिजन । रिजन, अर्थात् हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्नुभएको क्रिकेटर रिजन ढकाल । अहिले रिजन देशको सेलिब्रेटी बन्नुभएको छ ।
गृहजिल्लामा सम्मान ग्रहण गर्न अहिले रिजन ब्यस्त हुनुहुन्छ । भविष्यमा अझै खेलमा प्रगति गर्ने र क्रीकेटसंगै आफूलाई पर्याय बनाउने उनको उदेश्य छ ।
२७ बर्षिय रिजनको खेल चलिरहदा हेटौंडा २ मा उहाँको घर परिवार मात्रै हैन, टोल, जिल्ला र देशले प्रस्तुती नियालिरहेको थियोे । “छोरो उत्कृष्ट भएको घोषणा हुँदै गर्दा त मैले आफैलाई सम्हाल्न सकिन, खुसी सम्हाल्न पनि गाह्राे हुने रहेछ” उहाँको बुबा राजु ढकाल भन्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ “छोरो डाक्टर बनेको भए, खुसी हुनेहरू सिमित हुन्थे, आज सिङ्गो देश खुसी छ ।” आफ्नो लागि यो खुसी सबैभन्दा विशेष रहेको उहाँले बताउनुभयो ।
रिजनले पढाईलाई भन्दा खेललाई बढी समय दिएको देखेर परिवारलाई बेलाबेला चिन्ता लाग्थ्यो । “सधै छोरोले भन्थ्यो,बुबा हजुरले चिन्ता नलिस्यो,म यसैमा राम्रो गर्छु” बुबा राजु स्मरण गर्नुहुन्छ “आज उसले त्यो वाचा पूरा गर्यो। क्रीकेट अलि महङ्गो खेल भएकोले सर्वसाधारणको लागि अलि सहज नभएको राजु बताउनुहुन्छ । राजुले रिजनको पढामाभन्दा खेलमा लगानी धेरै गर्नुभयो ।
“झैण्डै झण्डै वैदेशिक रोजगारिमा पठाईसकेको थिए”, राजु भन्नुहुन्छ “छोरो आफै पनि विदेश जाउ क्यारे बुबा भन्ने अवस्थामा पनि थियो।” धैर्यताले नै छोरोको यो सफलता प्राप्त भएको उहाँको भनाई छ । रिजन उनकै बुबाबाट प्रेरित भएर क्रीकेटमा आएका हुन ।
प्रारम्भमा हेटौंडाको जिएस बोर्डिङ स्कुल पढ्नुभएको रिजनले हेटौंडा २ स्थित बाल जागृती इङ्लिस बोर्डिङ स्कुलबाट एसईई तथा हेटौंडा स्कुल अफ मेनेजमेन्टबाट जोड दुई पास गर्नुभएको हो । हाल काठमाडौमा स्नातक अध्ययनरत रिजनले एसईई परिक्षा दिएपछि क्रेकेटर रबिन गुरुङ र सन्दिप महर्जनबाट हेटौंडामै खेल तालिम लिनुभएको थियो ।
“रिजन पढाईमा पनि राम्रो विद्यार्थी हुन, क्रीकेटमा उनको क्रेज लोभ लाग्दो थियो, हामीलाई गौरव गर्ने नतिजा दिए” बाल जागृति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल बिनोद सुबेदीले भन्नुभयो । सोमबार बाल जागृतिले पनि रिजनलाई सम्मान गरेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शनपछि गृह जिल्ला मकवानपुर आईपुग्नु भएका रिजनलाई हेटौंडा उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
चितवन राइनोजका दायाँ हाते तीव्र गतिका बलर रिजनलाई सोमबार हेटौंडा उपमहानगरपालिकाले नगद सहित सम्मान गरेको हो ।
रिजनलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरेको हो । एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भई नगरको नाम उच्च राखेको नगर प्रमुख मिना लामाले बताउनुभयो । “रिजन ढकाल हेटौंडाको शान हुन” प्रमुख लामाले भन्नुभयो ।

प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका रिजनले सर्वाधिक विकेटकर्ताको ‘गोल्डेन क्याप’ समेत जितेका थिए । उनले एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेबापत ओमोडाको कार, उत्कृष्ट बलरको रूपमा मोटरसाइकल र सर्वाधिक विकेट लिने बलर बन्दै नगद २ लाख रुपैयाँ पुरस्कार हात पारेका थिए । गृहजिल्लामा हेउनपाले नगद एक लाख सहिद सम्मान गर्दा उनलाई बिद्यालय, वडा कार्यालय, संघसंस्थाको सम्मान लिन भ्याईनभ्याई छ ।
खेल क्षेत्रमा लागेर जीवन निर्वाह गर्न सहज छैन भन्नुहुनेहरूलाई धैर्य गर्न रिजन आग्रह गर्नुहुन्छ । “मैले खेल अभ्यास गर्दैगर्दा बुबाले धेरै राम्रो साथ सपोर्ट र परामर्श गर्नुभयो, र पो आज म यहाँ छु” रिजन भन्नुहुन्छ “मेरो सफलता मेरो लगाबसंगै मलाई प्रशिक्षण दिनुहुनेहरूको साथ,प्रेरणा, परिवार, आफन्त र साथीहरूको हौसला हो,यो श्रेय सबैलाई बाँड्न चाहन्छु।” आगामी दिनमा आफ्नो तर्फबाट अझै धेरै मेहनत गर्ने रिजनले बताउनुभयो ।
यसैगरी हेटौँडा–२ वडा कार्यालयले सोही वडाका एनपीएलका स्टार क्रिकेट खेलाडी रिजन ढकाललाई ३५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ। यस्तै रिजनलाई हेटौँडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेस (एचएसएमएसएस) ले एक लाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको छ।

