मकवानपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका हेटौंडाका क्रिकेटर रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिकाले १ लाख नगद सहित सम्मान गरेकाे छ ।
ढकाललाई सोमबार हेटौंडा उपमहानगरपालिकाले १ लाख रुपैयाँ सहित सम्मान गरेको हो । एनपीएलको तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भई नगरको नाम उँचो राखेको भन्दै उनलाई सम्मान गरिएको हो । हेटौंडा उपमहानगरपालिका – २ का ढकाल चितवन राइनोजमा आबद्ध छन् । सम्मान कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै कुल १७ विकेट लिएका रिजनले सर्वाधिक विकेटकर्ताको ‘गोल्डेन क्याप’ समेत जितेका थिए । उनले एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेबापत ओमोडाको कार, उत्कृष्ट बलरको रूपमा मोटरसाइकल र सर्वाधिक विकेट लिने बलर बन्दै नगद २ लाख रुपैयाँ पुरस्कार हात पारेका थिए ।
यसैबीच एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका ढकाललाई गृह नगर हेटौँडामा आइतबार स्वागत गरिएको थियो । एनपीएल सकेर हेटौँडा आइपुगेका ढकाललाई स्थानीय तथा जनप्रतिनिधिले फूलमाला र खादा लगाएर स्वागत गरेका हुन् । मकवानपुर जिल्ला क्रिकेट संघ, हेटौँडा उपमहानगरपालिका–२ का जनप्रतिनिधि तथा स्थानीयले स्वागत कार्यक्रम आयोजना गरेका हुन् ।
हेटौँडाको कांग्रेस चोकमा आयोजित कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौलालगायत स्थानीयको उपस्थिति थियो । क्रिकेटमा उनले हासिल गरेको उपलब्धिले हेटौँडा र मकवानपुरको गौरव बढाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए ।

