मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सेवा क्षेत्रभित्र बसोबास गर्ने १ लाख ७० हजार उपमहानगरवासीलाई ३० हजार १९१ वटा निजी तथा संस्थागत धारामार्फत खानेपानी सेवा प्रदान गरिरहेकाे छ । शुक्रबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिक अवधिको कार्य प्रगति,भावी कार्यक्रम बारे जानकारी दिंदै उक्त तथ्याङ्क सार्वजनिक गरेकाे हाे ।
बोर्डको सेवा क्षेत्रभित्र बसोबास गर्ने करिब १ लाख ७० हजार उपमहानगरवासीलाई लक्षित गरी हालसम्म ३० हजार १९१ वटा निजी तथा संस्थागत धारामार्फत खानेपानी सेवा प्रदान भइरहेको बोर्डका प्रमुख कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । जसबाट दैनिक करिब ३ करोड ७० लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आएको छ । यो हेटौंडा उपमहानगरको ७५ प्रतिशत कभरेज हो ।
नेपाल खानेपानी संस्थानको हेटौंडा शाखाको सम्पत्ति तथा दायित्व २०७० जेठ ८ गते बोर्डमा हस्तान्तरण भएसँगै बोर्डले हेटौंडा क्षेत्रको खानेपानी व्यवस्थापन, उत्पादन, प्रशोधन, भण्डारण, वितरण, मर्मतसम्भार तथा सेवा विस्तारको जिम्मेवारी निर्वाह गर्दै आएको छ । बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धि, नयाँ बस्तीको विकास तथा खानेपानीको मागमा भइरहेको वृद्धिलाई मध्यनजर गर्दै पूर्वाधारको नियमित मर्मतसम्भार गरिरहेकाे कार्यकारी निर्देशक सापकोटाले बताउनु भयो ।
खानेपानी उत्पादन क्षमता अभिवृद्धि, वितरण प्रणालीको विस्तार, पुराना पाइपलाइनको सुधार तथा प्रतिस्थापन, चुहावट नियन्त्रण, पानीको गुणस्तर परीक्षण नियमित हुने गरेकाे सापकाेटाले जानकारी दिनुभयो । संस्थाको सेवा प्रवाहलाई दिगो र प्रभावकारी बनाउन आर्थिक स्रोतको उचित परिचालन, आन्तरिक राजस्व वृद्धि, महसुल सङ्कलन, बक्यौता असुली, खर्चमा मितव्ययिता, जनशक्ति व्यवस्थापन तथा संस्थागत सुशासन महत्वपूर्ण पक्षका रूपमा रहेको उहाँले बताउनु भयो ।
यसैगरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको जोखिम युक्त बक्यौता रकम १६ लाख पुगेको छ । खानेपानी वितरण गरे वापत बोर्डलाई ८२ लाख ३८ हजार रकम अग्रिम महशुलको रुपमा जम्मा हुँदा जोखिमयुक्त बक्यौत १६ लाख पुगेको हो । खानेपानी उत्पादन तथा वितरण प्रणाली सञ्चालनमा विद्युत् महसुल, कर्मचारी व्यवस्थापन, पाइपलाइन मर्मतसम्भार, उपकरण खरिद तथा पूर्वाधार निर्माणमा ठुलो आर्थिक स्रोत आवश्यक पर्ने भएकाले संस्थाको आर्थिक अवस्थालाई सबल र सन्तुलित बनाउन चुनौतिपूर्ण रहेको बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनु भयो ।
बोर्डले कुल ३० हजार १९२ वटा धारामा पानी पुर्याउन सतहगत मुहान १ वटा, भुमिगत डिप ट्यूवेल ४० थान, समवेल १८ वटा सञ्चालन गर्दै आएको छ । अध्यक्ष विष्टका अनुसार बोर्डमा मासिक सरदर विलिङ्ग रकम १ करोड ३२ लाख हुन्छ भने मासिक सरदर पानी महशुल संकलन १ करोड २० लाख रहेको छ । विभिन्न सेवा सञ्चालन खर्च मासिक १ करोड हुने गरेको विष्टले बताउनु भयो । बोर्डले सेवा क्षेत्र विस्तार एवम् स्वच्छ सफा र दिगो खानेपानी व्यवस्थापन गर्ने उद्देश्यले हालै हेटौंडा वडा नं. १, २, ३, ६, ७, १४, १६ र १८ मा खानेपानीका पूर्वाधाहरु निर्माण कार्य गर्नका लागि डि.पि.आर निर्माण गर्ने कार्य सम्पन्न गरेको विष्टले बताउनु भयो ।
बोर्डको सेवा क्षेत्र भित्र विभिन्न स्थानमा उपभोक्तहरुको सहकार्यमा करिब १० कि.मि. पाइप लाइन सुधार विस्तार गरेको छ । बोर्डको कार्यालयभित्र स्थापना गरिएको अत्याधुनिक पानी परिक्षण प्रयोगशालामा बोर्डको सेवा क्षेत्र भित्र र बाहिरका गरी पहिलो चौमासिक अबधिमा ३०० वटा नमुना परिक्षण गरिएको छ ।
आर्थिक वर्ष २०८३/०८४ का लागि हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कुल अनुमानित आय तथा व्यय बजेट २५ करोड ९५ लाख ८० हजार रहेको छ ।
बोर्ड आर्थिक वर्ष २०८३/०८४ को लागि जम्मा आन्तरीक आय १८ करोड ७९ लाख ९७ हजार ८८५ अनुमान गरिएकोमा पहिलो चौमासमा ५ करोड,२६ लाख ३३ हजार ६५५ आम्दानी गरेको छ । बोर्डको प्रमुख आम्दानीको स्रोत पानी महसुल सङ्कलन रहेको देखिन्छ ।
पहिलो चौमासिक अबधि सम्मको जम्मा बिलिङ्ग रकम ५ करोड २८ लाख ४६ हजार मध्ये ९०.८०% प्रतिशत अर्थात ४ करोड ७९ लाख ८४ हजार संकलन गर्न सफल भएको छ । बोर्डको जोखिम युक्त वक्यौता रकम १६ लाख रहेको छ भने बोर्ड प्रति विश्वास गरी ग्राहकहरुबाट ८२ लाख ३८ हजार अग्रिम पानी महशुल रकम जम्मा गरेको देखिन्छ । विशेषगरी पुँजीगत खर्चको प्रगति न्यून देखिएकाले पाइपलाइन विस्तार, खानेपानी उत्पादन तथा वितरण प्रणाली सुधार, मोटर पम्प तथा अन्य उपकरण खरिद, भवन निर्माण, ट्याङ्की तथा मुहान मर्मत र सेवा क्षेत्र विस्तार कार्यक्रमलाई आगामी दोस्रो र तेस्रो चौमासिक अवधिमा प्राथमिकताका साथ अगाडि बढाइने योजना रहेको बोर्ड सूचना अधिकारी संजय न्यौपानेले बताउनुभयो ।
हेटौडा उपमहानगरपालिकाभित्र संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न आयोजना कार्यान्वयन गर्ने निकायबाट सडक विस्तार, सडक कालोपत्रे, सडक ढलान, ढल तथा नाला निर्माण, सडक स्तरोन्नति र अन्य पूर्वाधार विकासका कार्य सञ्चालन हुँदा बोर्डको खानेपानी वितरण प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने गरेको सूचना अधिकारी न्यौपानेले बताउनु भयो । “हाम्रो मुख्य चुनौती नै हेटौंडा बजार तथा विभिन्न वडा क्षेत्रमा सडक विस्तार र स्तरोन्नति गर्दा पुराना खानेपानी पाइपलाइनमा क्षति पुग्नु हो” न्यौपानेले भन्नुभयो “सडक कालोपत्रे तथा ढलान गर्नुअघि खानेपानी पाइपलाइनको अवस्था र भविष्यको आवश्यकता मूल्याङ्कन नहुदा समस्या छ ।”
दीर्घकालीन खानेपानी स्रोत तथा उत्पादन क्षमता वृद्धि गर्नमा समेत चुनौति रहेको बोर्डले जनाएको छ । पाइपलाइन विस्तार, पुराना पाइप प्रतिस्थापन तथा भण्डारण क्षमता बढाउन समस्या हुने गरेको उहाँले बताउनुभया । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा सेवामा प्रभावकारीता बढाउन नसकीको बताइएको छ ।बोर्डले आगामी दिनमा सुधारका लागि अबलम्बन गर्नु पर्ने कार्यहरुको सूचि तयार पारेर आफूलाई सुधारको बाटोमा अघि बढाएको छ ।
जसमा चुहावट नियन्त्रण पाइपलाइन तथा वितरण प्रणालीको नियमित अनुगमन र मर्मतसम्भार गर्ने, खर्च नियन्त्रणका लागि कार्यालय तथा सेवा संचालन खर्चमा मितव्ययिता अपनाउने, माग र आवश्यकताका आधारमा नयाँ सेवा क्षेत्र विस्तार गर्दै लैजाने, संस्थागत सुधारका लागि कर्मचारीको जिम्मेवारी र कार्यसम्पादनलाई नतिजामुखी बनाउने, पुराना पाइपलाइन प्रतिस्थापन तथा वितरण प्रणाली सुधार गर्ने, चुहावट नियन्त्रण गरी गैरराजस्व पानी न्यूनीकरण गर्ने, वैज्ञानिक महसुल निर्धारण तथा प्रभावकारी राजस्व असुली गर्ने, जीआईएस प्रणाली लागू गर्ने जस्ता कार्ययोजना तय गरेको छ ।


