मकवानपुर । बागमती प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत १९ औँ बैठक आगामी मंसिर १५ गते बस्ने भएको छ । बागमतीकाे मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्ति हुनु भएपछि पहिलो पटक प्रदेश सभाको बैठक बस्न लागेकाे हाे ।
गत भदौ ९ गते मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिनुभएपछि प्रदेशसभा बैठक बसेको छैन । प्रदेशसभा सचिवालयको सूचना अनुसार मंसिर १५ गते दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम उपसभामुख अप्सरा चापागाईंले बैठक आह्वान गर्नुभएको हो ।
१४ महिनादेखि बागमती प्रदेशसभा सभामुख विहिन
बागमती प्रदेश सभा विगत १४ महिनादेखि सभामुख विहिन छ । बागमती प्रदेश सभा गत २०८२ असोज १ देखि सभामुखविहीन विहीन छ । प्रदेशको सत्तारुढ गठबन्धनभित्र सहमति हुन नसक्दा सभामुख पद रिक्त रहेको हो ।
नवयुवा आन्दोलनपछि तत्कालीन सभामुख भुवनकुमार पाठकले २०८२ असोज १ गते राजीनामा दिनुभएको थियो । त्यस यता अघिल्लो सरकारले सभामुख चयन प्रक्रिया अघि बढाउने प्रयास गरे पनि दलहरूबीच सहमति जुटेन । गत भदौमा नयाँ प्रदेश सरकार गठन भएपछि सभामुख पदको टुङगो लगाउन गरिएको प्रयास सफल भएकाे छैन ।
सत्तारुढ एमाले र नेकपाबीच सभामुख चयनका विषयमा सहमति खोज्ने क्रम जारी रहेको छ । सरकार गठनका क्रममा सभामुखसहित दुई मन्त्रालय नेकपाले पाउने र मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले लिने सहमति भएको थियो ।

