मकवानपुर । बागमती प्रदेश राजधानी हेटौंडा तथा मकवानपुर जिल्लाको दीर्घकालीन विकासलाई लक्षित गर्दै मुख्यमन्त्री बहादुर सिंह लामालाई प्रदेश गौरवको योजना बुझाइएकाे छ।
बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले प्रदेश गौरवको योजना समेटिएको विस्तृत पत्र मुख्यमन्त्रीलाई बुझाएका हुन् । सांसद श्रेष्ठले योजनाहरू बुझाउँदै आर्थिक वर्ष २०८२/८३ को बजेटमा समावेश गर्न समेत आग्रह गरेका छन् । प्रस्तावित गौरवका योजना हेटौंडा राजधानीको रूपमा सुशोभन गर्न, भौतिक पूर्वाधार विकास, सामाजिक सेवा प्रवर्द्धन तथा दिगो शहरी विकासका लागि अपरिहार्य रहेको उनले बताए ।
प्रदेशको प्रशासनिक भवन निर्माण, हेटौंडा–काठमाडौं सुरक्षित मार्ग (भीमफेदी–कुलेखानी), हेटौंडा बाइपास सडक (चुरियामाई–चोकिटोल), कर्रा नदी कोरिडोर, एकीकृत शहरी विकास योजना (टाउन प्लानिङ), प्रदेश सभा गृह निर्माण, हेटौंडा चक्रपथ निर्माण (PTMP अन्तर्गत), मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश विश्वविद्यालय लगाएतका योजनालाई आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा आवश्यक रकम सहितको व्यवस्था गर्न उनले आग्रह गरे ।
श्रेष्ठले योजना पत्र पेश गर्दै प्रदेश राजधानी हेटौंडाको भौतिक संरचना अत्यन्तै कमजोर रहेको, प्रशासनिक सेवा सुविधाको अभाव रहेको, शहरीकरण अव्यवस्थित भएको, तथा शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गम्भीर लगानीको खाँचो रहेको उल्लेख गरेका छन्। सांसद श्रेष्ठको प्रस्तुति र योजनाको औचित्यप्रति मुख्यमन्त्री लामाले गम्भीर चासो व्यक्त गर्दै प्रदेश सरकार विकासका आधारहरूमा स्पष्ट र कार्यान्वयनमुखी ढंगले अघि बढ्ने बताए। उनले भने, “हामी जनअपेक्षाअनुकूल बजेट ल्याउने तयारीमा छौं। यस्ता गम्भीर, यथार्थपरक र भविष्यदृष्टिकोणयुक्त योजनाहरूलाई प्राथमिकतामा राखिनेछ। केही योजना तुरुन्त कार्यान्वयनमा लैजान सकिन्छ भने केहीलाई चरणबद्ध रूपमा अघि बढाइनेछ।”
मुख्यमन्त्रीले योजना कार्यान्वयनका लागि प्रदेश योजना आयोग, सम्बन्धित मन्त्रालय र प्राविधिक निकायहरूसँग समन्वय गरेर योजना थप परिमार्जन, विस्तृत परियोजना प्रतिवेदन (DPR) तयारी र बजेट व्यवस्थापन गर्न निर्देशन दिने बताए।

