मकवानपुर । मकवानपुर सुनचाँदी व्यवसायी संघ मकवानपुरले सुनमा लगाइएकाे २ प्रतिशत विलासिताकाे कर खारेज हुनु पर्ने माग गरेकाे छ । संघले बुधबार हेटौंडामा पत्रकार भेटघाट गरी आफ्ना माग सहित विरोधका कार्यक्रम घोषणा गरेकाे छ ।
पत्रकार भेटघाटमा संघ अध्यक्ष पवन शाक्यले सुनमा लगाइएकाे २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएकाे १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनकाे भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, सुनचाँदीकाे काराेबारकाे लागि प्रष्ट नीति नियमावली निर्माण गर्नुपर्ने माग राखेको बारे जानकारी दिए । ‘सुनचाँदी व्यवसायीले कमाउनु मात्रै भन्ने साेच राखेकाे छैन’ उनले भने ‘हामीले उपभाेक्ताकाे अधिकारलाई पनि ध्यानमा राखेका छाैं ।’
सरकारले आर्थिक वर्ष २०८२।०८३ काे बजेट भाषणमा उल्लेखित कर लगाउने उद्देश्य सही नभएकाे उनले बताए । ‘सरकारले लगाउने करले हालको मुल्यमा एक ताेला सुन बनाउँदा उपभाेक्ताले करिव ३५ हजार बढी खर्च गर्नुपर्ने हुन्छ’ उनले भने । नीति बनाएर राज्यलाई दिएकाे १०/१५ बर्ष हुँदा समेत कुनै चासाे नदिएकाे उनले जानकारी दिए । ‘सुनचाँदी व्यवसायीले सरकारसँग स्पष्ट नीति तथा आवश्यक नियमावलीकाे माग गरेका छाैं तर त्याे हाल सम्म प्राप्त हुन नसकेकाे उनले बताए ।
बढाइएकाे करकाे विषयमा संघले बुधबारबाटै हातमा कालाे पट्टी बाधेर विरोध जनाएकाे छ । यसैगरी २९ र ३० जेठ विहान हेटाैडा -१० स्थित संघकाे कार्यालयबाट विराेध र्याली गर्ने तथा सिमाचाेकमा काेणसभा गर्ने भएकाे छ । यस्तै २९ र ३० जेठमा देशव्यापी सुनचाँदी पसल बन्द गर्ने कार्यक्रम रहेकाे छ। हेटौंडा बजारमा मात्रै करिव २ सय वटा र मकवानपुर जिल्लाभर करिव २३५ वटा सुनचाँदी पसल छन् ।

