मकवानपुर । नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतान्त्रिक गतिविधि बलियो बनाउंदै अघिबढ्नु पर्ने बताएका छन् । एमाले हेटौंडा उपमहानगर कमिटीको आयोजनामा शनिबार भएको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीको दिशानिर्देश भैरहेको अवस्थामा गलत बाटो समाउँदै, गलत प्रचार गर्दै संविधान विरुद्ध कदम उठाउने काममा नलाग्न उनले निर्देशित गरेका छन् । एकतामा बल हुने उल्लेख गर्दै उनले पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, “एकता भयो भने कसैले कमजोर बनाउन सक्दैन, सामुहिकतामा सोच्नुपर्छ, आफू केन्द्रित भएर हैन, आफैलाई मुल्यांकन गर्दै लोकतान्त्रिक गतिविधि बलियो बनाउंदै अघिबढ्नु पर्छ।”
उनले पार्टी कर्मचारीतन्त्रको आधारमा नचल्ने भन्दै सामुहिकतामा जोड दिए। साथै, पार्टीको जरा अभियानको समिक्षा पनि संगसंगै गर्दै अघि बढाउनु पर्ने उनले बताए। कार्यक्रममा पार्टीका नेताहरू डोरमणी पौडेल, केदार न्यौपाने, एकालाल श्रेष्ठ, जुनेली श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। नगर अध्यक्ष बोल बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनवादी गितहरूको सांगीतिक प्रस्तुति समेत रहेको थियो।

