मकवानपुर । मुक्तक मञ्च मकवानपुरले २ जना स्रष्टालाई सम्मानित गरेकाे छ । मञ्चले २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा शनिबार २ जनालाई मुक्तक सम्मानबाट सम्मानित गरेकाे हाे ।
मञ्चले तारा स्मृति मुक्तक सम्मानबाट चितवनका मुक्तककार बिमला अधिकारी देवकाेटा तथा हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट रुपन्देहीका मुक्तककार रमेश समर्थनलाई सम्मानित गरेकाे छ । देवकाेटालाई ७ हजार ५०० रुपैंया राशीकाे तारा स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका साहित्यकार तथा मुक्तक मञ्चका मकवानपुरका संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा पिता तारा प्रसाद पौडेलको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् ।
सम्मानको राशि स्थापनाको समयमा ५ हजार ५५५ रहेकाेमा २०८० देखि बढाएर ७ हजार ५०० बनाइएको हाे। बिमलाकाे मनकाे किनारा मुक्तक संग्रह २०७५ सालमा प्रकाशित छ । उक्त सम्मानबाट २०७९ सालमा देवराज खरेल मकवानपुर तथा २०८० सालमा हरिकृष्ण काफ्ले रौतहट सम्मानित भइसकेका छन् ।
यसैगरी समर्थनलाई १० हजार रुपैंया राशीकाे हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाले अग्रज मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान गर्दै उक्त सम्मान स्थापना गरेका हुन् । मुक्तक विधामा प्रदान गरिने यो सम्मान मञ्चले पहिलो पटक प्रदान गरेकाे हाे । समर्थनकाे ब्रम्हलुट मुक्तक संग्रह २०५३ सालमा प्रकाशित छ ।
नेपाली साहित्य क्षेत्रको मुक्तक विधामा दिइएको योगदानकाे कदर गर्दै मञ्चले देवकाेटा र समर्थनलाई सम्मानित गरिएकाे अध्यक्ष सागर तिमल्सिनाले जनाकारी दिए । मञ्च अध्यक्ष तिमल्सिनाकाे सभाध्यक्षता, मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख आतिथ्यता तथा तुलसी घिमिरेकाे विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

