मकवानपुर । नेकपा एमाले मकवानपुरले १८ चैत सोमबार हेटौंडामा बृहत जागरणसभा आयोजना गर्ने भएकाे छ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गर्न लागेको हाे ।
जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको छ । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुने बताइएकाे छ । गणतन्त्रको संरक्षण र सम्बर्द्धन तथा राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा गर्न लागेको एमाले मकवानपुर अध्यक्ष श्रीधर पोख्रेलले बताए । जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा रहने उनले जानकारी दिए ।
‘जागरणसभाको तयारी तीव्र रुपमा भइरहेको छ’ अध्यक्ष पोख्रेलले भने ‘जागरणसभा अगाडि हेटौंडाको चार स्थानबाट र्याली निकालिने छ ।’ आगामी सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रीबाट र्याली निस्किने उनले बताए ।
मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्याली
१८ चैतमा नेकपा एमाले मकवानपुरले हेटौंडामा गर्न लागेको जागरणसभाकाे लागि जिल्लाकाे पश्चिम क्षेत्र मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्याली गरिने भएको छ । नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापन गर्न लागेको मोटरसाइकल र्याली हेटौंडाको बुद्धचोक पुगी जागरण सभामा सामेल हुनेछ ।
२ सय भन्दा बढीको सहभागितामा मोटरसाइकल र्याली आयोजना गर्न लागिएको एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदीले जानकारी दिए । ‘मनहरी गाउँपालिकासहित राक्सिराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको ३ र १९ नम्बर वडाबाट समेत मोटरसाइकल र्यालीमा युवाहरु थपिँदै जाने गरी व्यवस्था मिलाइएको छ’ अध्यक्ष सुवेदीले भने । उनका अनुसार उक्त पालिका तथा वडाहरुका नेताहरुसँग पनि एमाले मनहरी गाउँ कमिटीले समन्वय गरिरहेको छ ।
मोटरसाइकल र्यालीमा सहभागी नहुने अन्य नेता कार्यकर्ताहरु बस, ट्रक, बोलेरो भ्यान, निजी गाडीहरु प्रयोग गरेर सभामा सहभागी हुनेछन् । मोटरसाइकल र्यालीलाई व्यवस्थित, अनुशासित र संयम बनाएर सहज रुपमा जागरणसभा परिसरमा पुर्याउनका लागि तयारी भइरहेको गाउँ कमिटी उपसचिव अमृत बर्ताैला जानकारी दिए ।

