मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९, लामसुरेमा रहेकाे मानसेवा आश्रमकाे मुख्य कार्यालयमा आइतबारदेखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएकाे छ ।
मानवसेवा आश्रमको मुख्य कार्यालय आश्रमले अक्षयकोष निर्माण गर्ने उद्देश्यले आयोजना गरेकाे महायज्ञ बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार उद्घाटन गरे । मुख्यमन्त्री लामाले व्यक्तिगत २५ हजार रुपैयाँ महायज्ञमा हस्तान्तरण गरे । यस्तै प्रदेश सरकारले छलफल गरेर सकेसम्म अक्षयकोषका लागि अनुदान रकम सहयोग गरिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले १ करोड ५० लाख रुपैयाँ अनुदान स्वरुप अक्षयकोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरन बहादुर जोशीले ५ लाख रुपैयाँ हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए । यसैगरी डा.कृष्ण धितालले ५ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरे ।
महायज्ञकाे पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित शोभा कलशयात्रा गरिएको छ । दोस्रो दिन सोमबारबाट २४ चैतसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवर्द्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम हुनेछ ।
बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ लगाइसकेकोमा १० औं महायज्ञ हेटौंडामा सुरु गरिएकाे हाे ।

