मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाकाे एउटा घरमा आगलागी भएको छ । आइतबार विहान राक्सिराङ ५ बोटकारीस्थित भीम बहादुर मोक्तानको घरमा आगलागी भएकाे हाे ।
उनकाे एकतले ढुंगा र माटोले बनेको घरमा आगलागी हुँदा करिब ७ लाख रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोक्तानको घरमा रहेको ४० हजार रुपैँया नगद जलेर नष्ट भएको छ । त्यस्तै अन्नपात,काठ,भाँडावर्तन र लत्ताकपडा जलेर नष्ट हुँदा करिब ७ लाख रुपैँया बराबरको क्षति भएको प्रहरीले जनाएकाे छ ।
विद्युत लाइन सर्ट भई आगो लागेकाे बताइएकाे छ । प्रहरीचौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक नबीन कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको हो । घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

