मकवानपुर । बागमती प्रदेशसभा अन्तरगतकाे उद्योग, पर्यटन तथा वातावरण समितिले उद्योग तथा वाणिज्य कार्यलयकाे नाम परिवर्तन गर्न सिफारिस गरेको छ । समितिकाे आइतबारकाे बैठकले उद्योग तथा वाणिज्य कार्यलयको नाम परिवर्तन गर्दै “घरेलु उद्योग तथा वाणिज्य कार्यलय” राख्न सिफारिस गरेको छ।
समितिले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ अनुसार उक्त नाम परिवर्तन गर्न सिफारिस गरेकाे समिति सदस्य भारती पाठकले जनाकारी दिइन् । पाठकका अनुसार उद्यमीहरूलाई उत्पादन र बजारीकरणमा सहजता दिन, साना र मझौला उद्योगलाई वृहत्तर बनाउँदै रोजगार सृजनामा योगदान पुर्याउनका लागि घरेलु उद्योग तथा वाणिज्य कार्यलय’को नाम सिफारिस गरिएको हो।
‘मन्त्रालयको विभाजनपछि उद्योग व्यवसायीलाई विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ’ उनले भनिन् ‘प्रदेशभित्रको शक्ति र स्रोतहरूको उचित परिचालन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा सहजीकरण गर्नका लागि नाम परिवर्तनकाे सिफारिस गरेका छौं ।’ उद्योग दर्ता र बन्द प्रक्रियामा सरलता ल्याउन कानूनी दृष्टिकोणबाट पनि नाममा सुधार आवश्यक रहेकाे उनले बताइन् ।

