मकवानपुर । नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै रहेकाे बताएका छन् । लोकतान्त्रिक संविधान र प्राप्त उपलब्धि विषयमा बिहीबार हेटौंडामा भएको नागरिक समाजसंगको अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रको विकल्प निरङकुश राजतन्त्र हुन सक्दैन’ रानाले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थामा मुलुकले गरेको विकासको स्वामित्व सबै लोकतन्त्रवादी दलहरुले लिनुपर्छ ।’ मकवानपुर इन्चार्ज समेत रहनुभएका रानाले राजतन्त्रको नाममा आम नेपालीको मनोविज्ञानलाई बिगार्ने कुचेष्टालाई सबै पक्ष मिलेर परास्त गर्नुपर्ने बताए । ‘लोकतन्त्र कुनै नारा लगाउने विषय नभई राजनीतिक दलहरुको जीवनशैली हाे’ उनले भने ‘भएका कमजोरीहरुलाई सुधार गरी व्यवस्थालाई सुदुढ बनाउन आफूहरु प्रतिबद्ध रहेका छौं ।
हामी सबैको चौतारी लोकतन्त्र रहेकाेले सम्बृद्ध नेपाल बनाउन सबै अगाडि बढेकाे उनले बताए । ‘हाल बढिरहेको प्रतिगामी हर्कतको विरुद्धमा प्रतिबादमा हामी जान सक्नुपर्छ’ उनले भने । हाल जनतामा बढिरहेको निराशकाे सम्बोधन गर्ने गरी १८ चैतमा हेटौंडामा जागरण सभा तथा र्यालिको आयोजना गरिने समेत उनले बताए । ‘जागरण सभाले आम जनतालाई सचेत गराउने छ भने राजतन्त्र आउने भ्रम समाप्त हुन्छ’ उनले भने ।
यसैगरी अन्तरसंवाद कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजतन्त्र फर्काउने दिवा सपना नदेख्न चेतावनी दिए । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधानले राजतन्त्रलाई नचिन्ने भएकोले राजतन्त्र फर्किने कुनै सम्भावना नै छैन’ उनले भने । राजा नै नभएको ठाउँमा राजतन्त्रको पक्षमा वकालत गर्नुको कुनै अर्थ नभएको उनले बताए । ‘राजतन्त्र ल्याउने कुरा त कल्पना समेत गर्न समेत सकिँदैन’ यनले भने व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भन्दा पनि पहिला कस्तो अवस्था थियो र अहिले कहाँ पुग्यो त्यो हेर्न जरुरी छ ।’
नेकपा एमाले जिल्ला कमिटि मकवमनपुरकाे आयाेजनामा भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष श्रीधर पाेखरेलकाे सभाध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य रामेश्वर रानाकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा केन्द्रिय सदस्य केदार न्यौपाने, प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, नगर अध्यक्ष बाेलबहादुर कार्की, भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, गैसस बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा, गैसस जिल्ला अध्यक्ष रमिला सापकाेटा, बालकल्याण समाज जिल्ला संयाेजक प्रकाश खतिवडा, हिमराइट्स नेपाल जिल्ला संयाेजक कुमारी वाइवा, माइती नेपाल मकवानपुर जिल्ला संयाेजक माया लामा लगायत नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

