मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनमा नयाँ समिति चयन भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन अन्तरगत संगठनबीचकाे सहमतीमा आइतबार दिवस सिलवालकाे नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समिति उपाध्यक्षमा सजना घिमिरे, सचिवमा सुवास राई, कोषाध्यषमा आशाराम गोले, सहसचिवमा आशिष भोलन निर्वाचित भए । यस्तै सदस्यमा आयुषा बुढाथोकी, निश्चल गजुरेल, सन्तोष पुडासैनी, पूजा लम्साल, सुष्मा गौतम, सुशील तिमल्सिना सर्वसम्मत चयन भएका छन् ।
क्याम्पस प्रमुख लक्ष्मण कँडेलले सूचना जारी गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष उज्वल चौलागाईको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत नयाँ समिति चयन गरेको जानकारी दिएका छन् । स्ववियु निर्वाचन कार्यक्रमअन्तर्गत वंशगोपाल बहुमुखी क्याम्पसमा ५ वटा संगठन दर्ता भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त वंशगोपालमा स्नातक तहमा बीबीएस र बीएड कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा स्ववियुको नयाँ समिति सर्वसम्मत चयन भइसकेकाे छ ।

