मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठित परियोजना परामर्श समितिले माइती नेपाल मकवानपुरबाट सञ्चालित मावन बेचविखन रोकथाम परियोजना २०२४ को समिक्षा गरिएको छ ।
बेचविखनमा परेका वा बेचविखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थाका जवरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा तथा दुर्व्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आवधिक आवासको सहयोग, सिपमुलक कार्यक्रम/ तालिम प्रदान गर्ने उद्दश्यका साथ सञ्चालित परियोजनाबाट एक वर्षमा अपेक्षित उपलब्धि हासिल समिक्षा गरिएको थियो ।
परामर्श समितिका संयोजक नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा बसेको बैठकले माइती नेपालको कार्यप्रगती प्रशंसनीय भएको निश्कर्ष निकालेको छ । लक्ष्यित वर्गका महिला, किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमतामा सबै खाले हिंसाको विरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन सहयोग गरेको, सरकारी तथा गैर सरसरकारी संस्था, महिला तथा बालबालिकाहरुसंग सम्बन्धित संस्थाहरु र संजालसँग सहकार्य र समन्वय गरी मानव बेचविखन र सबैखाले हिंसा विरुद्ध लड्न एक्वद्धता जाहेर गरेको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया तामाङले बताइन् ।
माइती नेपालले परियोजना सञ्चालनको क्रममा यसबीचमा १० किशोरी तथा महिलाहरुले सिलाई कटाइ सम्बन्धी एडभान्स तालिम प्रदान गरेको, १० जनाले नै सिलाई व्यवसाय संचालन सुरु गरेको बताइएको छ । यसैगरी माइती नेपालमा ४८ औं समुहमा तालिम प्राप्त गरेकी १ जना किशोरी एसईई पास भएपछि घरको आर्थिक अवस्था कमजोर भएर पढ्न नपाकोमा गृहको समन्वयमा इस्थर बेन्जामिन स्मृति संस्थासँग समन्वय गरेपछि निजलाई हाल कक्षा ११ मा भर्ना गरिदिएको छ ।
यसैगरी ९ हजार ४३५ जना विधार्थीहरु, समुदायले मानव बेचविखन तथा ओसारपसार विरुद्ध जानकारी पाएको, एडभान्स तालिम लिएको १ जना र बेशिक तालिम लिएको १ जना बहिनीहरुलाई यस गृहको समन्वयमा ओसीएमसीबाट जनही १ लाख बराबरको सिलाई सामाग्री प्रदान भएको थियो ।समिक्षामा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले विभिन्न चुनौती समेत सामना गर्न परेको बताइन् । यौन हिंसा,घरेलु हिंसाको मुद्दाहरुमा बृद्धि, आन्तरिक मानव बेचविखनका क्रियाकलापमा बृद्धि, मुद्दाहरु होस्टायल हुने चुनौती, पिडक पक्षको धम्की, भारतीय तथा अन्य मुलुकबाट वैदेशिक रोजगारको लागि खाडी मुलुक तथा अन्य मुलुकमा गएर अलपत्र परेका महिलाहरुलाई उद्धार गर्न समस्या, साइबर अपराधको मुद्दाहरुमा बृद्धि, सामाजिक संजालको दुरुपयोग जस्ता चुनौती रहेको उनले बताइन् ।
हेटौंडा नगर प्रमुख लामाले माइती नेपालको कार्यशैली पारदर्शी भएकोले आगामी वर्षको लागि पनि परियोजना सञ्चालनको लागि स्वीकृत प्रदान गरेको बताइन् । यसैगरी उपमहानगरपालिका कार्यकारी अधिकृत भरत गौतमले गैससको सहकार्यले स्थानीय सरकारलाई होस्टेमा हैंसे गराउने बताए । बैठकमा उपमहानगरपालिकाका विभिन्न महाशाख प्रमुखहरु, जिल्लाका विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्षमा बोनो र चान्स स्वीसको आर्थिक सहयोगमा मावन बेचविखन रोकथाम परियोजना २०२४ परियोजना सञ्चालनमा थियो । माइती नेपालबाट आगामी वर्षको लागि Consolidated Actions Against Human Trafficking 2025 सञ्चालनको लागि उपमहानगरपालिकाले अनुमती प्रदान गरेको छ ।

