मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशमा स्वास्थ्य सेवा सहज, सर्वसुलभ र प्रभावकारी बनाइने बताएका छन् ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् । ‘समिक्षा गोष्ठीले कार्यक्षमताको मूल्यांकन गर्न र आगामी योजना बनाउन मार्गनिर्देशन गर्छ’ मन्त्री थापाले भने । ‘यो वर्ष स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन र प्रविधि सुधारमा विशेष जोड दिने हाम्रो योजाना छ’ उनले भने ‘स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सरकारले काम गरिरहेको छ ।’
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा प्रवाहका मुख्य चुनौतीहरू पहिचान गर्दै समाधानका लागि समन्वय आवश्यक रहेको बताइन् । ‘सेवा गुणस्तर सुधारका लागि दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिको अधिकतम उपयोग तथा प्रभावकारी अनुगमन प्रणालीलाई अगाडि बढाउछौ’ उनले भनिन् । त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दिपेन्द्र श्रेष्ठले नीति निर्माणलाई तथ्यांक र वास्तविकतामा आधारित बनाउनु आवश्यक रहेको बताए। ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अनुसन्धान र प्रविधिमा लगानी बढाउनुपर्छ’ उनले भने ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झाले समिक्षात्मक गोष्ठीबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रमहरूमा समावेश गरिने बताए । ‘प्रदेशको स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सबै निकायहरूले समन्वयात्मक रूपमा काम गर्न आवश्यक छ’ उनले भने ‘समीक्षाले कमजोरीहरू पहिचान गर्दै सुधारका लागि मार्गनिर्देशन गर्ने अवसर दिन्छ।’
प्रदेशका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले आइतबारबाट सुरु सनिक्षा गोष्ठी ३ दिनसम्म संचालन हुनेछ । पहिलो दिन अस्पतालको प्रस्तुति रहेको समिक्षामा दोस्रो दिन जनस्वास्थ्य र तेस्रो दिन आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्रस्तुति रहने निर्देशनालयले जनाएको छ ।

