मकवानपुर । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त हुने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हाे ।
सोमबार राति १२ बजेबाट ३० वर्षे सेवा अवधिका कारण वसन्त कुँवर अवकाश जाने छन् । मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी भएका छन् । आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।
प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् । प्रतिष्पर्धी तीनै जना २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

