मकवानपुर । नेकपा एमालेले सुरु गरेकाे जरा अभियान प्रभावकारी बनेकाे एमाले मनहरीकाे दोस्रो पूर्ण बैठकले निष्कर्ष निकालेकाे छ । मनहरी गाउँपालिका कमिटीको रजैयास्थित अग्निहोत्राश्रममा भएकाे बैठकले तीन महिने जरा अभियान अन्तर्गत मनहरी गाउँपालिकाका ९ वटै वडामा भएका पार्टी र जनसंगठन कमिटीहरुको प्रगति विवरणहरुको समिक्षा गर्दै अभियान प्रभावकारी भएकाे निष्कर्ष निकालेकाे हाे ।
मंगलबारकाे बैठकमा हरेक वडामा खटिएका जिल्ला कमिटीका सदस्यहरुले वडाको बस्तुगत अबस्था र आगामी दिनमा गर्नुपर्ने कामका रिपोर्टिङ गरेको एमाले गाउँपालिका कमिटी सचिव पोशकबाबु बिष्टले बताए । तीन महिने अभियानको मध्यावधि समिक्षा गरिएको र आगामी चैतको दोस्रो साता आयोजना हुने तेस्रो पूर्ण बैठकमा जरा अभियानको प्रभावकारिता मापन हुने उनले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले जरा अभियानले पार्टीका गतिविधिहरुलाई सक्रिय बनाउँदै सुसुप्त रहेका शक्तिहरुलाई उजागर गर्ने बताए । पार्टी र सरकारप्रति अहिले भइरहेको अनावश्यक आरोप, टिप्पणी र प्रचारबाट एमालेजन सचेत हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश कमिटी उपसचिव एबम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले संगठन निर्माण, परिचालन, एजेण्डाको उठान लगायतका बिषयहरु जानकारी गराएका थिए । एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जिल्ला कमिटीले गरेको निर्णयहरुको कार्यान्वयन पालिका कमिटी, वडा कमिटी र टोल कमिटीहरुले गर्नुपर्ने भन्दै जरा अभियानमा सबैजना जोडिनुपर्ने बताए ।
मनहरी गाउँपालिका कमिटि अध्यक्ष नवीन सुवेदीकाे अध्यक्षतामा भएको बैठकमा बागमती प्रदेश कमिटी सदस्य एबम् मनहरी गाउँपालिका इन्चार्ज अर्जुन अर्याल, बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेती, जिल्ला कमिटी उपसचिव आरती पाठक र गाउँपालिकाभित्रका जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।

