मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौंडामा मोटरसाइकल र्याली निकालेको छ । संघीय संसदमा राजा ज्ञानेन्द्रका विरुद्ध अपशब्दको प्रयोग गर्ने नेताहरूको विरुद्धमा बृहत मोटरसाइकल र्याली निकालिएकाे पार्टीले जनाएकाे छ ।
पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।
राप्रपा हेटौंडा नगर अध्यक्ष अरुण लामाले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले र्याली निकालेको बताए । ‘देशका आम जनता आहात भएकाले व्यवस्था बदल्न सडकमा आएका छन्’ उनले भने । देशले परिवर्तन खोजेको बताउदैं व्यवस्था बदल्न खोजेकोले संघीयता खारेजी गर्नु पर्ने आवाज उठेकाे उनले बताए । देशभित्रका बेथिति विरुद्ध राप्रपाले राजा ज्ञानेन्द्रको पुनःवहालीका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको उनले बताए ।
राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजग गराउन र आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न र्याली निकालिएको बताइन् । उनले हिन्दु राष्ट्र कायम, राजसस्था पुनस्थापना, भष्ट्राचार नियन्त्रण नभएसम्म राप्रपाका आन्दोलनका कार्यक्रम यथावत रहने जानकारी दिइन् ।

