असम (भारत) । भारत असमका साहित्यकार कविता शर्मा पौडेलको गजल सङ्ग्रह अचानोको लोकार्पण गरिएको छ । असम नेपाली साहित्य सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती समारोहमा कविताको गजल सङ्ग्रह अचानोको लोकार्पण गरिएको हो ।
असमको गोलाघाट जिल्ला सरूपथारमा भएको असम नेपाली साहित्य सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती चारदिवसीय कार्यक्रममा अन्तर्राष्ट्रिय संगोष्ठी, कार्यपत्र प्रस्तुत, पुरस्कार तथा सम्मान कार्यक्रम, असमबाट प्रकाशित विभिन्न स्रष्टाका १०० वटा पुस्तक लोकार्पण गरिएको थियो ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले पूर्वायन प्रकाशन गुवाहाटी, असमले प्रकाशन गरेको गजलकार कविताको दोस्रो कृति अचानोको विमोचन गरेका थिए । उनको यो पहिलो गजल सङ्ग्रह हो भने कृतिगत रूपमा दोस्रो कृति हो । यसअघि उनको कविता सङ्ग्रह समयको बारुद प्रकाशित भएको छ ।
भारत, असम राज्यको बडगाउँ सोणितपुरमा २१ फेब्रुवरी १९८६ मा जन्म भई जील्ला चिराङ वीटीएडी असम स्थाई बसोवास गर्ने कविता साहित्यका कविता तथा गजल विधामा कलम चलाउँछिन । चिराङ नेपाली साहित्य सभा, विटीआररिजन, असम नेपाली साहित्य सभा जस्ता साहित्यिक संस्थाहरूमा सकृय सर्जक उनि हाल नेपालको मोरङ जिल्ला उर्लाबारी नगरपालिकामा अस्थाई बसोबास गर्छिन ।
नेपाली भाषाबाहेक असमिया, हिन्दी, बंगाली र अंग्रेजी भाषामा समेत दख्खल र लेखनमा सकृय कविताले नेपाल र भारत असम बीचको साहित्यक सहकार्यको समेत भूमिका निर्वाह गरिरहेकी बताइएको छ ।
यसैगरी भारतको असममा रहेको असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरू शर्मा पराजुलीको नाममा स्थापित एक लाख राशीको ‘निरू शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ पहिलोपटक नेपाली साहित्यकार प्राध्यापक डा.देवी नेपाललाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपालबाट डा.गोविन्दराज भट्टराई, डा.देवी नेपाल, शरद चन्द्र वस्ती, विवश बलिभद्र कोइराला, डा.गोपीकृष्ण खतिवडा, चन्द्र भण्डारी, विमल वैद्य, विष्णु न्यौपाने, अभागी थेगुवा, दीपक सुवेदी लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
यसैगरी भारत असमबाट साहित्यकार डा.चिन्तामणि शर्मा, डा.इन्दु प्रभादेवी, डा.खगेन्द्र शर्मा, रण काफ्ले, नव सापकोटा, ज्ञानबहादुर क्षेत्री, रुद्र बराल, अर्जुन निरौला, पूजा आचार्य, नैना अधिकारी, अमित अधिकारी, ज्योति हुमागाईँ लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
असम नेपाली साहित्य सभाका सभापति दुर्गा खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महासचिव मदन थापाले गरेका थिए ।कार्यक्रममा भारतको सिक्किम, दार्जिलिङ,सिलिगुडी, मणिपुर तथा नेपालका स्रष्टाहरूको उपस्थिति रहेको थियो।

