मकवानपुर । नेपाल पत्रकार महासंघको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । पत्रकार महासंघ अन्तर्गत केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र प्रतिष्ठान शाखाको कार्यसमिति चयनका लागि देशैभर निर्वाचन हुन लागेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिका संयोजक चिरञ्जीवी खनालले तिनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । निर्वाचन हुने स्थानका सबै मतपत्रसहित निर्वाचन प्रतिनिधि पुगेर सम्पूर्ण तयारी गरिसकेको बताइएकाे छ । महासंघको आज हुने निर्वाचनले केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नेतृत्व चयन गर्नेछ ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरूमा पुर्याइसकिएको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिका लागि हल्का गुलाबी रङको मतपत्र तयार गरिएको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न पाउने गरी गरिएको व्यवस्था रहेकाे छ ।
मकवानपुर जिल्ला शाखा अध्यक्षमा ४ जनाको उम्मेदवारी
नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रमअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि पोष्टराज अधिकारी, सुरेश श्रेष्ठ, बालकृष्ण अधिकारी, अञ्जली थापा, र शिव कुमार रिजालको उम्मेदवारी दिएका थिए । बिहीबार अध्यक्ष पदमा उम्मेदवारी दिएका रिजालले उम्मेदवारी फिर्ता लिदैं अधिकारीकाे प्यानललाई सहयोग रहने जनाएका छन् ।
महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज शुक्रबार विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन् । मकवानपुरमा विभिन्न पदका लागि ४९ जनाले उम्मेदवारी दर्ता गराएकाेमा बिहीबार ४ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । १ जना सदस्य, ७ जना प्रदेश परिषद सदस्य तथा १ जना केन्द्रिय परिषद सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
यसैगरी केन्द्रीय समितिको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी रहेकाे छ ।
त्यस्तै उपाध्यक्ष महिलामा गङ्गा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन् । यसैगरी महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महासंघका नौ हजार पाँच सयभन्दा बढी सदस्यले प्रत्यक्ष रूपमा मतदान गरी नेतृत्व चयनमा सहभागी हुदैछन् ।

