मकवानपुर । मकवानपुरकाे हेटौंडामा रहेको किताबघरले ‘कफी एट किताबघर’ नामक कार्यक्रम सुरुवात गरेको छ । कला साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने उद्देश्यले बिहीबारदेखि कार्यक्रम सुरु गरिएको हो ।
थर्ड आइ एजुकेसनल सेन्टर प्रालि सहयोगमा सुरु भएको ‘कफी एट किताबघर’को पहिलो कार्यक्रममा बिहीबार कथाकार मि रमा (रमा सुवेदी) सँग साक्षात्कार गरिएकाे छ । किताबघरमा भएको सो कार्यक्रममा कथाकार मि रमाले आफ्नो कथा लेखन यात्राको बारेमा जानकारी दिइन् । हेटौंडा स्थायी बसोबास भए पनि लामो समयदेखि काठमाडौंमा सञ्चारकर्ममा रहेकी उनले ढिला गरी साहित्य लेखनमा लागेको बताइन् ।
पछिल्लो समय बाह्रखरी कथा प्रतियोगिता २०८० र २०८१ मा लगातार उत्कृष्ट २५ भित्र परेपछि उनको कथाको चर्चा चुलिएको छ । लेखन ढिलो सुरु गरे पनि आफू पहिलेदेखि नै नियमित पाठक रहेको उल्लेख गर्दै उनले आफू कथाकारकै रुपमा निरन्तर लागिरहने बताइन् । लेखनका हिसाबले कहिले काही भावना समेत लेख्ने गरेकाेमा कविता भनेर प्रकाशकले छापिदिने गरेकाे भए पनि आफूले कविता लेख्न नजानेकाे समेत उनले बताइन् ।
कार्यक्रमले मकवानपुर तथा अन्य जिल्लाबाट हेटौंडा आउने साहित्यकारहरूसँग साक्षात्कार गराउँदै जाने किताबघरका सन्चालक छवि अनित्यले जानकारी दिए । मकवानपुरके हेटौंडामा पठन संस्कृतिको विकासका लागि अघिल्लो साताबाट किताबघरले ‘बालबालिकासँग किताबका कुरा’ कार्यक्रम समेत सुरु गरिसकेको उनले बताए ।

