फिफा विश्वकप फुटबल अन्तरगत उत्तर अमेरिकामा भइरहेको खेलमा क्वाटरफाइनल समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलका खेलहरु सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ।
क्वाटरफाइनलमा युरोपबाट ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १/१ टिम प्रवेश गरेका छन् । उपाधि दौडमा रहेका ८ टोलीबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने भएको छ।
क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्गल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड प्रवेश गरेका हुन् । पहिलो क्वार्टरफाइनल खेल फ्रान्स र मोरक्कोबीच हुनेछ। यो खेल जुलाई १०, शुक्रबार राति १:४५ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ।
यसैगरी दोस्रो खेलमा दुई युरोपेली देश स्पेन र बेल्जियम आमने-सामने हुनेछन्। यो खेल जुलाई ११, शनिबार राति १२:४५ बजे हुने तय भएको छ।तेस्रो क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्डको सामना गर्नेछ। यो खेल जुलाई १२, आइतबार बिहान २:४५ बजे सुरु हुनेछ। यसैगरी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विजरल्याण्डबिच भिडन्त हुनेछ। यो खेल जुलाई १२, आइतबार बिहान ६:४५ बजे हुनेछ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा अफ्रिकन पावर हाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै समाप्त भयो । अर्को खेलमा साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको पेनाल्टी गोलमा जायन्ट किलर पाराग्वेलाई १-० ले हरायो । यस्तै वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि ब्राजिललाई २-१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।
इंग्ल्यान्डले रोमाञ्चक खेलमा दश खेलाडीमा रहेर पनि सहआयोजक मेक्सिकोलाई ३-२ ले हराउँदै क्वाटरफाइनमला स्थान बनायो । अर्को प्रिक्वाटरफाइनलमा मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले छिमेकी पोर्चुगललाई १-० को झिनो अन्तरले हराएर अन्तिम आठमा स्थान बनायो । आयोजक राष्ट्रहरु बाहिरिने क्रमले निरन्तरता पाउँदा अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४-१ ले पराजित भयो ।
साविक विजेता अर्जेन्टिनाको लागि भने नकआउट चरणका खेलहरु चुनौतीपूर्ण बनेकाे छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अर्को अफ्रिकी राष्ट्र इजिप्ट विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ३-२ को पुनरागमन जित हात पारेको हो ।
यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीसुटबउटमा ४-३ ले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो ।

