मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ ओम्याक्स हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका १ जनाकाे क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–४ निवासी ४८ वर्षीय सन्तोष दास रहेका छन्।
मकवानपुर प्रहरीका अनुसार असार २० गते दिउँसो १ बजे कर्रा चोकबाट सिमाचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०४४ प २३९६ नम्बरको स्कुटरले सडक किनारमा उभिरहेका दासलाई ठक्कर दिएको थियो। मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुना स्थायी घर भई हाल हेटौंडा–४ नेपालचोकमा डेरा गरी बस्ने १८ वर्षीय मनिष गौतमले चलाएकाे उक्त स्कुटरकाे ठक्करबाट दास घाइते भएका थिए।
दुर्घटनामा दासको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीयकाे सहयोगमा तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकाेमा थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा असार २४ गते बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा दासको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर चालक गौतमलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

