मकवानपुर । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत १३ मंसिरमा आयोगको सदस्य नियुक्त खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा शपथ ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको उपस्थितीमा आयोग अध्यक्ष महेश्वर श्रेष्ठले सदस्य खड्कालाई शपथ गराएका हुन् । सपथ ग्रहणमा मुख्यमन्त्री बहादुरसिंह लामाको समेत उपस्थिति थियो । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम खड्का आयोगको सदस्यमा नियुक्त भएका थिए ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बनेका हुन् । यससँगै आयोगको बोर्डले अब पूर्णता पाएको छ ।

