मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक सरकार, सत्तापक्ष दल र प्रमुख प्रतिपक्ष दलबिच ५ बुँदे सहमति भए पछि संचालन भएकाे छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा बैठक अवरोध गरेकाे थियाे । शुक्रबारकाे पाँच बुँदे सहमतिसँगै बागमती प्रदेशसभाको अवरोध हटेको छ ।
प्रतिपक्ष दलले बजेटप्रति उठाएका असहमतिका सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलका लागि टेबल गर्नुअघि वक्तव्यमार्फत बजेटकाे विवरण सच्चाएर किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने पहिलो सहमति भएकाे थियाे । त्यसैगरी प्राविधिक र कानूनी कार्यविधि मिलाई बजेट सन्तुलित बनाउने पनि सहमति भएको छ ।
त्यस्तै प्रतिपक्ष दलहरूको मागअनुसार कार्यक्रम विवरणमा समावेश भएका कार्यक्रम शीर्षकमा सिलिङभित्रको अपुग रकम थप गर्न सरकार पक्ष सहमति भएको छ । सहमति पत्रमा मुख्यमन्त्री शालिकराम जम्मकटटेल, आर्थिक मन्त्री जगन्नाथ थपलिया, सांसद कृष्ण खनाल तथा प्रतिपक्षका तर्फबाट बहादुरसिंह लामा र उद्धव थापाले हस्ताक्षर गरेका छन् ।
प्रदेश सरकारकाे तर्फबाट गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सभमा प्रस्तुत गरेकाे बजेटकाे विरोध गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले प्रदेश सभाकाे बिहीबारकाे बैठक अवरोध गरेकाे थियाे । तीन पक्षिय सममतिपछि प्रदेश सभाकाे बैठकमा बजेटमाथिकाे दफावार छलफल शुक्रबारकाे बैठकमा भइरहेकाे छ ।
सहमतीका बुँदाहरु
१) प्रतिपक्ष दलले उठान गरेको सवालमा आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट छलफलको लागी टेबल गर्नु अघि बक्तब्य मार्फात पेनड्राइभमा भएको विवरण प्राविधिक त्रुटि भएको र सच्याई किताब प्रकाशन गरी ल्याएको जानकारी गराउने ।
२) प्राबिधिक, कानूनी, कार्यबिधि मिलाई बजेट सन्तुलित बनाउने बारे सहमती भयो ।
३) प्रतिपक्ष दलहरूले माग गरे बमोजिम कार्यक्रम बिवरणमा समावेश भएको कार्यक्रम शिर्षकमा शिलिङ भित्रको अपुग रकम थप गर्ने सहमति भयो । थप रकम रकमान्तर गरी सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
४) विषयगत मन्त्रालयमा रहेको अवन्डामा रहेको रकम प्रतिपक्ष दलहरूले प्रास्तव गरे बमोजिमको प्रकृति मिल्ने खालको शिर्षकमा बजेट व्यवस्था गर्ने सहमत भयो । सुनिश्चितको लागि आझै मन्त्री स्तरीय निर्णय गरी प्रतिपक्ष दलहरूलाई आश्वस्त पार्ने ।
५) सहमती बमोजिम सदन सुचारू गर्ने ।

