मकवानपुरको अतिदुर्गम राक्सिराङ गाउँपालिका–४ चैनपुरमा २०४२ सालमा रूपचन्द्र विष्ट (थाहा) ले एउटा सभा आयोजना गरे । सभामा उपस्थित भीडलाई नमस्ते गर्दै एक जनालाई अगाडि बोलाए । चारऔंले लगौंटी मात्र लगाएका, जाबी झोला भिरेका एक पुरुष संकोच मान्दै उनी अघिल्तिर पुगे । जब विष्टले उनलाई सभापतित्व गराए, त्यसबेला उनी आत्तिएजस्ता देखिएका थिए ।
करिब साढे एक घण्टा सञ्चालन भएको सभा सकियो भनेर उनैले विसर्जन गरे । उनी थिए— मैते चेपाङ । त्यही दिनपछि उनी गाउँको थाहा अभियानका प्रचारक मात्र बनेनन्, अन्याय र अत्याचारविरुद्ध बोल्न थाले । चेपाङ अहिले जीवित छैनन्, तर उक्त क्षेत्रका चेपाङमा जागरण भर्न उनले पुर्याएको योगदानको अझै पनि चर्चा हुने गर्छ । विष्ट २०३८ सालको चुनावमा गाउँ घुम्ने क्रममा साबिक सरिखेत गाविसको भावरमा पुगेका थिए । त्यहाँ एक तामाङनी दिदीलाई मल बोक्न सघाए । दिदीले मकै भुटेर खुवाइन्, उनले २० डोका मल बोके । विष्टले त्यतिबेला भावरमा जम्मा भएका स्थानीयलाई भनेका थिए, ‘उनले मलाई मकै भुटेर खुवाइन्, मैले मल बोकिदिएँ बराबरी भयो ।’ जनप्रतिनिधि भएर विष्टले जनतासँग गरेका सद्व्यवहारका यी केही प्रतिनिधि घटना हुन् ।
विष्टकै चिन्तन र सोचको विकसित रूप हो, अहिलेको थाहा नगरपालिका । यहाँका बासिन्दालाई उनी विचारले खँदिलो, शारीरिक रूपमा स्वस्थ मात्र होइन, आर्थिक तथा शैक्षिक रूपले सबल बनाउन चाहन्थे । यस क्षेत्रमा तास–जुवा खेल्नेलाई कठोर सजाय दिन्थे । विष्ट आएपछि जुवाडेहरूको भागभाग हुन्थ्यो । गाउँका जाली फटाहा र समाज विरोधीहरू उनका सामु एकछिन टिक्न सक्दैनथे । उनी अन्याय र अत्याचारका विरुद्ध जीवनपर्यन्त जुधिरहेका योद्धामात्र होइनन्, सामाजिक परिवर्तनका संवाहक पनि हुन् । उनका सहयात्री अक्कलबहादुर केसी विष्टलाई ‘अर्गानिक नेता’ भन्न रुचाउँछन् ।
निर्वाचनमा पर्चा बिक्री गर्ने, पोस्टर ननिकाल्ने र जनताकै बलमा चुनाव लड्ने गरेको उनी स्मरण गर्छन् । सिद्धान्तलाई जनताको बोली, व्यवहार, विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू विरलै जन्मिन्छन् । केही यस्ता महान् हुन्छन्, ती व्यक्तिको इतिहास षड्यन्त्रस्वरूप वा आफैं पनि मेटिन सक्दैन । त्यस्तै, एक क्रान्तिकारी युगपुरुष हुन् विष्ट । विष्टको निधन भएको साढे दुई दशक पुग्यो । २०५६ असार ७ गते काठमाडौंको वीर अस्पतालमा उनको निधन भएको थियो । उनकै स्मरणमा साबिक ६ वटा गाविस मिलाएर थाहा नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाले उनको जन्मजयन्तीका अवसरमा असार ७ मा सार्वजनिक बिदा दिएको छ ।
तीसको दशकको सुरुमा उनले चलाएको ‘थाहा’ आन्दोलनको मुख्य सार नै थियो— निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन रहने उनको तर्क थियो । पक्ष भएर काम गर्न सजिलो र सरल हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्थे उनी । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढंगले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार गर्ने उनी राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाज सुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चा यसकै उदाहरण हुन् । २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका उनले निर्वाचनमा पर्चा बिक्री गरेका थिए । मकवानपुरको माटोलाई प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने विष्टप्रति २०४६ सालको आन्दोलनकारी शक्तिहरूले न्याय गर्न सकेनन् । जसले गर्दा उनको जागरण अभियानमा ठेस पुग्यो ।
तत्कालीन शिखरकोट गाविसको घर्तीखोला (हालः थाहा नगरपालिका–३) मा १९९० पुस २६ गते जन्मेका विष्टले समाज सुधारको अभियान दामन–पालुङबाट प्रारम्भ गरेका हुन् । उनको विचार, चिन्तन र आदर्श व्यवहारलाई कुनै पनि राजनीतिक दर्शनको घेरामा कैद गर्नु हुँदैन । उनी बाँचुन्जेल सत्य र न्यायका लागि लडे । उनका आदर्श चरित्र मुलुकका नेताहरूले थोरै प्रतिशतमात्र अवलम्बन गर्न सके जनताले परिवर्तनको अनुभूति गर्न पाउने थिए ।
ईकान्तिपुरबाट

