मकवानपुर । नेपालको संबिधान २०७२ मा मौलिक हक अन्तर्गत धारा २९ मा शोषण विरुद्धको हकको व्यवस्था गरिएको छ । जसमा “(१) प्रत्येक व्यक्तिलाई शोषण विरुद्धको हक हुनेछ, (२) धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन वा अन्य कुनै आधारमा कुनै पनि व्यक्तिलाई कुनै किसिमले शोषण गर्न पाइने छैन, (३) कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन, (४) कसैलाई पनि निजको इच्छा विरुद्ध काममा लगाउन पाइने छैन” भनिएको छ ।
तर मानव बेचविखनको स्वरुपमात्रै परिवर्तन भएको छ, अझै पनि चुनौती उस्तै छन् । मानव बेचबिखन तथा ओसारपसारलाई अनियमित बसाँइसराई, मानव तस्करी आदिबाट पृथक राख्ने गरेको पाइन्छ । बेचबिखन तथा ओसारपसारमा परेकाहरूलाई बल प्रयोग गरी वा त्रासमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरूको माग पूरा गर्न बाध्य पारेको पाइन्छ ।
यस्तै चुनौतीहरु मुकाविला गर्दै मानव बेचविखन विरुद्ध सामूहिक ऐक्यवद्धता जनाएका छन् । माइती नेपाल मकवानपुरले ‘हाम्रो आवाजःमानव वेचविखनबाट मुक्त समाज’ भन्ने नाराका साथ मानव वेचविखन तथा ओसारपसार विरुद्ध यातायात व्यवसायी र होटेल व्यवसायीसंग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
शुक्रबार हेटौंडामा आयोजना गरिएको कार्यक्रममा पीडितलाई सांस्कृतिक, भाषिक रूपमा एक्ल्याई शारीरिक चुनौतिपूर्ण वातावरणमा राखिने, कानुनी पहिचान र न्यायमाथिको पहुँचबाट टाढा पु-याइने जस्ता चुनौतीबारे छलफल गरिएको थियो ।
पछिल्लो समय विदेशमा कामका प्रलोभनहरुमा पारेर बेचविखन हुने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया तामाङ्ले बताइन् । फ्रि भिसा, फ्रि टिकेट, निःशुल्क बसोबासको व्यवस्था, निःशुल्क खानपानको व्यवस्थाको प्रलोभनमा पारेर डक्टर, नर्स, इन्जिनियर, टेक्निसियन, विद्यार्थी, कलाकार, व्यापारी, जो कोही पनि बेचिन सक्ने तामाङले बताइन् ।
देहव्यापार, मनोरञ्जनको क्षेत्रमा प्रयोग, अश्लिल सामाग्री निर्माणमा प्रयोग, दास जस्तै बनाएर काममा लगाउने, बालबालिकाको किनबेच, गैर कानूनी रुपमा धर्म सन्तानको रुपमा किनबेच, अनघिकृत रुपमा बालगृहमा ओसारपसार गर्ने र राख्ने, बालबालिकालाई उँट चालकको रुपमा प्रयोग, कानून बमोजिम बाहेक मानव अंग झिक्ने, बेच्ने, माग्ने बनाएर जस्ता रुपमा मानव बेचबिखन हुने गरेको उनले बताइन् ।
कार्यक्रममा आफ्नो टोलमा हुने घटना न्यूनीकरणको लागि आफूआफै पनि लागिपर्नु पर्ने हेटौंडा उपहानगरपालिका वडा नं. १० को वडा सदस्य गोमा सुनारले बताइन् । संस्थाले गर्ने जनचेतनामुलक काममा सहकार्य गर्नुपर्ने सुनारले बताइन् । विकाससंगै चेतनाको स्तर बढाउन जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको अध्यक्ष प्रदिप कडेलले प्रहरीसंगको सहकार्यमा बेचबिखन विरुद्ध अनरवत लागिरहेको बताए । कार्यक्रममा होटेल एशोसिशनको महासचिव हरिगोपाल सापकोटा, प्रहरी सहायक निरीक्षक अरुणकुमार सिंह, मानव बेचविखन तथा ओसारपसार विरुद्धको प्रदेश स्तरीय समितिको सदस्य प्रकाश खतिवडा, मानव अधिकार संगठनको अध्यक्ष सर्मिला श्रेष्ठ, हिमराइट्स मकवानपुरको कार्यक्रम संयोजक कुमारी वाइवा, साना हातहरु नेपालको स्टेशन म्यानेजर डिकम्बर रुपाचा, कोशिशको पैरवी अधिकृत सुनिरा लामा, अस्मिता नेपालको कार्यक्रम संयोजक शान्ती कार्की, नारी संरक्षण केन्द्रको अस्मिता प्रजा, मकवानपुर महिला समुहको कार्यक्रम अधिकृत निशा लामालगायतको उपस्थिति थियो ।

