© भट्टराई माधवप्रसाद
आँसु खस्यो, गला रुक्यो तिमी गएपछि ।
ओठ,तालु सबै सुक्यो तिमी गएपछि ।
पुर्याउन लैजाऊ भन्यौ मिर्मिरे मै बाटोतिर,
सुमो चढ्यौ, मुटु दुख्यो तिमी गएपछि।
कहिल्यै पनि ओझेल हुन्न तिमीबाट भन्थें,
बाचा, कसम सबै चुक्यो तिमी गएपछि ।
सामुन्नेमा देखा पर्दा आहा भन्नेहरुले नै,
मेरै कुरा काट्दै भुक्यो तिमी गएपछि ।
श्रीमतीलाई दासी सम्झी शासन गर्नेले त,
आकाशतिर फर्की थुक्यो तिमी गएपछि ।
तिम्रो लक्ष्य पूरा गर्न जे जे गरें, जसो गरें,
गौरवले छाती फुक्यो तिमी गएपछि।
सुर्योदय–१३, लक्ष्मीपुर,इलाम

