वसन्त हरियाली
म कहाँ छु भनेर
कहिल्यै पनि सोचेको थिइनँ
म कस्तो छु भनेर
कहिल्यै पनि सोचेको थिइनँ
मैले त बस् मेरो पछाडि दुनियाँ छ
दुनियाँको अगाडि म छु सोचेको थिएँ
लाग्यो
मलाई सुनिरहेको छ दुनियाँले
लाग्यो
मलाई देखिरहेको छ दुनियाँले
लाग्यो
म प्यारो पात्र भइसकेँ दुनियाँको
बिस्तारै मेरो वरिपरि
मेरै चर्चाहरू भुनभुनाउन थाले
म घेरिएँ एउटा ठुलो भीडले
भीडले हात समाउन खोज्यो
चुँडिए औँलाहरू
च्यातिए बाहुलाहरू
भीडले अंगालो हाल्न खोज्यो
टुक्रा टुक्रामा च्यातिएर सकियो कोट
भीडले पाउ छुन खोज्यो
तन्किए खुट्टाहरू
मेटिए बुट्टाहरू
फुस्कियो पाइन्ट
म जमीनमा पछारिएँ बेस्सरी
तैपनि
लाज ढाक्नको लागि
म भीडको पाइतालामुनि
शीर झुकाएर हिँडिरहेँ
पलपलमा दुखिरह्यो जीवन
सहदै गएँ पीडाहरू
बहदै गएँ भीडको बिचैबिचबाट
एकदिन समयले मलाई
किनार लगाइ दिएछ
अहिले म भीड भन्दा पर छु
अहिले म भन्दा भीड पर छ
भीडसँग कुनै दुस्मनी छैन मेरो
भीडसँग कुनै मित्रता छैन मेरो
आऊ तिमी पनि
दुनियाँले नाङ्गेझार पार्नु पहिल्यै
दुनियाँले तिमीलाई ज्यूँदै मार्नु पहिल्यै
त्यो रमितेहरूको भीड छिचोलेर
त्यो अशान्तिको भीड छिचोलेर
क्षितिज पारीको मेरो
शान्त बस्तीमा आऊ
यहाँ भीड छैन
यहाँ प्रेम छ
केवल प्रेम छ
कैलाली
हाल दक्षिण कोरिया

