मकवानपुर । दशकदेखि विवादमा तानिदै आएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को वन बिज्ञाना क्याम्पस आफ्नै भवनबाट सन्चालन हुने भएको छ ।
बिश्व विद्यालय अनुदान आयोगबाट प्राप्त १० करोड १३ लाख ११ हजार रुपैयाँ लागतमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत हेटौंडास्थित वन विज्ञान संकायको शैक्षिक भवन तयार भएको हो । यो संगै कृषि विश्व बिद्यालय र वन बिज्ञान विश्व विद्यालय बिचको विवाद साम्य भएको छ ।
स्वामित्वको विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको वन संकायको शैक्षिक भवन तयार भएपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थानको हेटौंडास्थित क्याम्पस प्रशासनलाई यसअघि भोगचलन गर्दै आएको भवन मंगलबार फिर्ता गर्दै चाबि बुझाउने कार्यक्रम राखिएको थियो । भवनको चाबी फिर्ता गर्ने भनिए पनि त्रिभूवन विश्वविद्यालयअन्तर्गत वन विज्ञान क्याम्पसका क्याम्पस प्रमुख शिब कुमार मान्जन कार्यक्रम सहभागी भएनन् ।
स्वामित्व विवाद अन्तर आगामी ३० गते पनि पेसी रहेको वन संकायका डीन डाक्टर बलराम भट्टले बताए । “धेरै दुख गर्नु पर्यो, अझै दुख र विवाद टुङ्गिएको छैन” उनले भने । हेटौंडास्थित वन विज्ञान संकायका डिन डाक्टर भट्टले पहिले निकै दुख कष्टका साथ अध्यापन गराउँदै आएको भए पनि अहिले सहज रुपमा यस भवनबाट पढाउन थालिएको बताए । सुबिधा सम्पन्न पाँच तले २० कोठाको भवनबाट अध्यापन गराँदै आएको छ ।
त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको चितवनस्थित कृषि क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान परिसरमा कृषि तथा वन विज्ञान क्याम्पस स्थापना गर्ने भनी कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन २०६७ जारी भए पनि त्रिभूवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच स्वामित्वको विवाद जारी छ ।
वन संकायका डीन भट्टले अब वन संकायको प्रशासनिक भवन र प्राध्यापक, कर्मचारी आवास भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए । २०७६ जेठ ३० गते बिबादित जग्गामा तत्कालीन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भवन निर्माणको लागि शिलान्यास गरेका थिए ।

