मकवानपुर । गृह जिल्ला मकवानपुर आएर राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले बिदेशी शक्तिको आडमा एमालेलाई सिद्याउने खेल भैरहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापाले विदेशी शक्तिको आडमा एमालेलाई पराजित गर्न गठवन्धन निर्माण भएको बताएका हुन् ।
चुनावी प्रचारको लागि हेटौंडा आएका थापाले गठबन्धको बिरुद्ध एमाले बलियो हुनु पर्ने बताए । उनले राप्रपा तहसनहस पार्न पनि विदेशी शक्तिको हात रहेको बताउँदै भने “हिजो एमाले सक्नको लागि एक भएका विदेशी शक्ति आज राप्रपा नेपाल विरुद्ध लागि परेको छ ।”
हेटौँडामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भु–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट्र भएको विदेशी शक्तिले एमाले सरकार ढालेको बताए ।
कुनै समय एक अर्काको टाउको काटन तम्सने माओवादी र कांग्रेसको सत्ता गठवन्धन के कारणले भयो भन्ने प्रश्नको जवाव जनताले बुझिसकेको उनले बताए । अध्यक्ष थापाले राष्ट्रियता पक्षधरलाई कमजोर पार्न विदेशी शक्तिले कांग्रेस–माओवादीको प्रयोग गरेको बताए ।
आफु केपीशर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्रसंघको बैठकमा नाकाबन्दी विरुद्ध कडा रुपमा उभिएको कारण राप्रपालाई समेत बाहिरि शक्तिले तहसनहस गरिदिएको थापाले आरोप लगाए ।
उनले आउँदो निर्वाचनमा राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी रहेको समेत स्पष्ठ पारे । थापाले चुनाव जितेपछि सरकार बनाउन गठबन्धन बनाउनु स्वभाविक भएपनि चुनाव मै गठबन्धन हुनु स्वभाविक हुँदै नभएको बताए । “जनताको मन जितेर काम गर्ने भन्दा पनि बिदेशीको आडमा पैसाको भरमा चुनाव जितेर जानेहरुले जनतामाथि शासन गर्ने छन्, सबैले यही बुझ्नु पर्छ” थापाले भने ।

