मौन आवाज
अहिले
उराठ छ गाउँको बाटो !
सपनामा आमा खोज्दै हिंडिरहेको बालक झैं
अहिले
अलपत्र छ गाउँको बाटो ।
शहरबाट एकाध आउने एनजीओका
गाडीहरुले कुल्चेर
अहिले
हिलाम्मे छ गाउँको बाटो !
टेकेर जानेहरुले बिर्सेपछि
नआएपछि फर्केर प्रिय पाईतालाहरु
अहिले
उदास छ गाउँको बाटो !
बूढो रुखको कापबाट
चुहिन्छ कहिलेकाहीं जूनको उज्यालो
कहिलेकाहिं
आइपुग्छ टाउकोमाथिको जंगलबाट
सान्त्वना बोकेर बुहारी फकाउने बतासहरु !
रोगी स्वास्नीको खकारमा देखेपछि रगत
गुज्रँदै गएपछि तमसुकको म्याद
परदेश गएका छोराहरुको सम्झनामा
चिठी लेखिरहेको पिता झैं –
अहिले
व्याकुल छ गाउँको बाटो !
स – साना बच्चा नदीहरुलाई
जसलाई पाठशाला पठाउनु छ
वन झाँक्रीहरुसँग लडेर उनिहरुलाई
जिताउनु छ
सभ्यताको नवीन संसारमा प्रवेश गराउनु छ
समयलाई अँध्यारोबाट जोगाउनु छ ।
युगौंदेखि यसरी नै
घिसार्दै घिसार्दै आफ्नो नियति
हिंडिरहेको छ गाउँको बाटो
यहीँबाट कति पोइला गए खलाँसीहरुसित
कति पुगे राजधानीमा नेता हुन
कोहि कवि भए
कोहि डाक्टर
कोहि कलाकार भए
कोहि ईन्जिनियर !
तर ,
अहिले पनि किन उस्तै छ गाउँको बाटो ?

