मकवानपुर । युवा आख्यानकार सिम्रन क्षेत्रीको उपन्यास `झुमर´काे शनिबार विमोचन भएको छ । झुमरलाई कवी एलबी क्षेत्री, समीक्षक भूपिन, लक्ष्मी बराल, शिरिषा सापकोटा, लेखकका ससुराबुवा इन्द्रजीत पराजुली, हजुरबुवा तुलबहादुर थापालगायतले विमोचन गरेका हुन् ।
नारीकाे कथाबस्तुमा आधारित उपन्यास झुमरका बारेमा बोल्दै लक्ष्मी बरालले क्षेत्रीले नारीसँग सम्बन्धित बिषयबस्तुलाई गम्भीरताका साथ उठान गरेको बताइन् । समीक्षक भूपिनले भने `प्रेमका अनेक रुप हुन्छन्, अहिलेको प्रेम झन् थरीथरीका हुन्छन् । सिम्रनले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढंगले सजाएकी छन्´ ।
प्रमुख अतिथि एलबी क्षेत्रीले महिलाको अस्तित्व वैवाहिक परम्परा र यौन जीवनसँग जोडिएको बताए । झुमरमा उपन्यास बनोटका सामान्य त्रुटि बाहेक नारी अस्तित्वका विविध आयामलाई बुनिएको क्षेत्रीले बताए ।
सम्पूर्ण किताबको आयोजनामा नारायणी रिसोर्टमा आयोजित कार्यक्रम सम्पूर्ण किताबका संचालक शिरिषा सापकोटाकाे अध्यक्षता भएकाे थियाे । कार्यक्रममा प्राध्यापक एवम् कवि गायत्री श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, एसओएस बालग्रामका प्रमुख भोलानाथ पौडेलले शुभकामना व्यक्त गरेका थिए । पाठकहरुकाे तर्फबाट रन्जना लिम्बु, सुरज बराकोटी र रुक्मिणी सापकोटालगायतले झुमरमाथि टिप्पणी राखेका थिए ।
लेखक सिम्रन क्षेत्रीले नयाँ लेखकलाई किताब लेख्न भन्दा पनि प्रकाशन गर्न समस्या रहेको बताउँदै साहित्य क्षेत्रमा यसलाई समस्याको रूपमा राखीरहन नहुने बताइन् । कार्यक्रममा लेट्सटकका संयोजक आकाश पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
एडीबी पब्लिकेसन्सले प्रकाशन गरेको पुस्तकलाई बुलबुल पब्लिकेसन्सले वितरण गरेको छ ।

