मकवानपुर । हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँले ‘राष्ट्रलाई चिनाउन खेलकुद महत्वपूर्ण’ भएकाे बताएका छन् । शनिवार हेटौंडा ७ किरणचाेक टोलमा भएको खेलाडी सम्मान कार्यक्रममा बानियाँले वडा, नगर र राष्ट्रलाई चिनाउन पूर्वाधारकाे विकास भन्दा खेलकुद महत्वपूर्ण भएकाे बताएका हुन् ।
उनले भने खेल क्षेत्र सधैं माथिल्लो स्थानमा रहने भएकाेले सडक र पूर्वाधारका काम भन्दा माथि खेलकुदलाई राखिने बताए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथी बानियाँले खेलकुदलाई बिशेष प्राथमिकतामा राखेर उपमहानगरने नीति तथा कार्यक्रम तयार गरेकाे जानकारी दिए । उनले सबै हिसाबले खेलकुद महत्वपूर्ण रहेकाले वडातहमा आएको बजेटको केही प्रतिशत खेलकुदको लागि छुट्याउन वडा अध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा सुनसरी र चितवनमा भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा प्रथम सहित बिभिन्न बिधामा पुरस्कार प्राप्त गरेका तेक्वान्दोका खेलाडीलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा तेक्वान्दोको आन्तरीक परिक्षामा उर्तिण भएकालाई प्रमाणपत्र बितरण गरिएको थियो ।
संघका अध्यक्ष मदनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय सदस्य राकेशकुमार राई, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी किरणचेक टोल बिकास सस्थाका अध्यक्ष राजु आधिकारीकाे उपस्थिति रहेकाे थियाे ।

