प्रीति आत्रेय ज्ञवाली
आमा भएर यो देह भएको छ हराभरा ।
आमाले ममता पोख्छिन् यिनी हाम्री वसुन्धरा ॥१॥
सिकाइन् यिनले ज्ञान मान संस्कार संस्कृति ।
दिनरात सधैँ खट्दै बनाइन् सभ्य सन्तति ॥२॥
सन्तानले मिठो माने आफ्नो भाग दिने यिनी ।
नपाऊन् दुःख है भन्दै पूजा गर्छिन् सधैँ यिनी ॥३॥
आमा साथ भए चाड सबै लाग्छन् रमाइलो ।
दूर छु अहिले आमा मन भो तम्तमाइलो ॥४॥
मन यो जहिले हुन्छ दुःखी एवं अशान्त नै ।
आमाको शब्द नै सुन्दा प्रशान्त मन हुन्छ है ॥५॥
के गरी म भनूँ बात आमाको म यसै भनी ।
भनेर जति नै बात पूर्ण हुन्न कसैगरी ॥६॥
आमाको दूधको भारा तिर्ने लायक मै बनूँ ।
गरूँ म कर्म है त्यस्तो मातृऋण तिरी मरूँ ॥७॥
छन्दः अनुष्टुप्
बुटवल हाल कम्बाेडिया

