- सीता रेग्मी
कपाल जिंरीङ्ग, लगाएका लुगा मैला, हातमा प्लास्टिकका थैला खस्याकखुसुक पारिरहेकी थिईन्।उमेर अन्दाजी ६५/७० हुदोँ हो। म अघि देखि उनलाई नियालिरहेको थिएँ।
“कहाँ सम्म जानुहुन्छ आमा?” नसोधी रहनै सकिन।
“दमक” उनले आफ्नो काम जारी राख्दै म तिर आँखा नउठाई नै जवाफ दिईन्।
“घरै दमक हो?” अझ बढी जान्न मन लाग्यो।
“हैन” फेरि उही पारामा छोटो उत्तर आयो।
“घर कहाँ हो नि?” फेरि पनि प्रश्न गरेँ।
“धरान हो।” हात बिसाएरै म तिर हेर्दै उनले उत्तर दिईन्।
“अनि दमकमा को हुनुहुन्छ?” मेरो जिज्ञासा अझै मेटिएन।
“कोही छैन माग्न गको म त !” उनले प्लाष्टिकको खस्याकखुसुक बन्द गरी म तिर हेरेरै उत्तर दिईन् यस पटक।
“यतै माग्दा हुदैन थियो?” थप प्रश्न फुत्कीहाल्यो।
“यहाँ त सबैले चिन्छन् कसैले केही दिदैनन्।” उनले प्रष्ट पारिन्।
“घरमा को को हुनुहुन्छ?” जिज्ञासा बढीरह्यो।
“कोही पनि छैन, मेरो घर पनि छैन भाडामा बस्छु। मागेर खान्छु, चोरेर पो खानु हुँदैन त माग्न त हुन्छ नि हैन?” उनले समर्थन खोजिन्।
मैले “हो” भन्दै समर्थन जनाएँ।
अघिदेखि उनले बनाएका प्लाष्टिकका साना साना पोका तिरे हेर्दै सोधेँ, “यो के हो, किन यति धेरै पोका पार्नु भएको?”
उनले सम्पूर्ण ध्यान मतिर केन्द्रित गर्दै प्रशन्न मुद्रामा भनिन्, “पर जंगलमा पुगेपछि साना साना बाँदरहरु बाटोको छेउ छेउमा बसिरहेका हुन्छन्, तिनीहरुलाई नै दिन ठिक पारेकी । एउटैमा दिदाँ झगडा गर्छन् त्यही भएर यसरी भाग लगाएर दिन्छु । यो बाटो आउँदा जाँदा म सधै यसरी नै बाँदरलाई भुजा दिन्छु, अरु कसैले दिदैनन् मलाई यिनीहरुको सारै माया लाग्छ।”
सुन्दरहरैचा मोरङ

