मिन प्रसाद लामिछाने
महँगीको आगो बलिरहँदा
आम नेपालीको मुटु जलिरहँदा
अनि दिनदिनै सीमा स्तम्भ ढलिरहँदा
र विदेशीको हैकम चलिरहँदा पनि
चुइँक्क नबाेल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।
भ्रष्टाचारले देश खाइरहँदा
गरिबीले विरह गाइरहँदा
अनि अपराधीले उन्मुक्ति पाइरहँदा
र सर्वत्र अराजकता छाइरहँदा पनि
चुइँक्क नबाेल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।
संस्कृतिले डाँडो काटिरहँदा
भाइ भाइको मन फाटिरहँदा
अनि नेताहरूले बारम्बार ढाँटिरहँदा
र सत्तासँग स्वाभिमान साटिरहँदा पनि
चुइँक्क नबाेल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।
युवाहरू पलायन भइरहँदा
लोकतन्त्रको लेपन गइरहँदा
अनि अवस्था जस्ताको त्यस्तै रहिरहँदा
र जनताले निस्सासिएर सहिरहँदा पनि
चुइँक्क नबाेल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।
नेताहरू बारम्बार चुकिरहँदा
प्रतिगमनले मौका ढुकिरहँदा
अनि युद्धको घाउ झन् झन् दुखिरहँदा
र देशको शिर झुकिरहँदा पनि
चुइँक्क नबाेल्ने, हामी नेपाली
बुज्रुक होइनौं, बुख्याँचा हौँ ।
हेटाैडा मकवानपुर
लामिछानेकाे हालै प्रकाशित ‘मैले जिउन जाँनिन’ व्यङ्ग्य कविता संग्रहबाट

