सावित्री अधिकारी
प्रिय प्रेम,
मैले तिमीलाई बुझ्न सकिन
या
तिमीले मलाई बुझ्न चाहेनौ?
मैले तिमीलाई भेट्न सकिन
या
तिमीले मलाई भेट्नै चाहेनौ?
आखिर कहाँ बस्छौ तिमी?
मलाई लाग्थ्यो तिमी हृदयमा हुन्छौ
तर यदि हृदयमा हुन्थ्यौ भने
किन खोज्छन् मान्छे तिमीलाई
गुलाफको फूलमा?
अनि राम्रा र महङ्गा उपहारमा?
यदि तिमी मनमा हुन्थ्यौ भने
किन महशुस गर्दैनन् मनहरुले ?
अनि खोज्छन् रुप शरीर र वैंसमा
तिमी त पवित्र हुन्छाै
भन्ने सुनेको थिएँ
तर किन जुठोमा खाेज्छन्
मान्छेहरु तिमीलाई ?
के तिम्रो पनि उमेर हुन्छ?
हुन्छ भने भन्देउ न तिमी
कति देखि कति उमेर सम्म आउँछाै?
आज तिम्रो दिवस अरे
मान्छेहरू तिम्रो स्वागत गर्न
ठुला ठुला होटल र पार्कमा
जम्मा भएका छन्
नाचगान चलेको छ
रुप र यौवनले धपक्क बलेर
खटिएका छन् तिम्रो स्वागतमा
के तिमीलाई पाउन दिवस नै कुर्नु पर्छ ?
अनि अर्कोतिर
एउटा निर्धन, निश्चल
निश्वार्थ, निरिह
पवित्र आत्मा
तिम्रो आगमनकाे बाटो
कुरिरहेछ
के तिमी आउन सक्छौ ??
सुकेधार काठमाडाैैं

