उत्सव चौलागाईं
तिमीले मलाई गरेको माया देखेर
आजकाल त
परेवाको जोडी पनि डाहा गर्न थाल्छन् ।
जब गरुङ्गो मन लिएर
गन्तव्यहीन यात्रा गर्दै थिएँ
बाटोमा फुल्दै गरेको
फूलले मुसुक्क मुस्कुराए जस्तै
जब पहिलो भेटमा
तिम्रो मुस्कान मेरो मुस्कानमा
मिसिएको आभास हुन्थ्यो ।
सुस्तरी- सुस्तरी मुस्कुराउँदै
तिमीलाई हेर्दै
पवनसरि एउटै वेगमा बहेका
ती प्रेमिल पलहरू
अहिले पनि
सम्झिरहेछु म ।
अहिले त
तिमी र म
म र तिमी
जबसँगै हुने छौंँ
त्यतिखेर
मायाको हिउँ पग्लिएर
बग्ने छ नदी
अनि हामीले अनन्त
सागर भेट्ने छौँ
जहाँ भावनाका करोडौँ मोतीहरू
हाम्रो स्वागतार्थ उभिएका हुन्छन् ।
तिमी जहिले पनि
मनको खुशी पस्केर
बिहान-बेलुका गाँस कुर्छौ
आफ्नो आँखाभरि
गुलाफ फुलाउँदै
बाटोभरि छर्छौ र
मेरो बाटो हेरिरहन्छौ ।
मेरो मन उड्छ
सिमलको भुवा जस्तै
जब मेरो मनको राजा
तनमा आइपुग्छ
प्रेमको कैलाशमा बसेर
ध्यान जब गर्छौ
त्यतिखेर
जीवनको मिठो सङ्गीत
मन भित्र पस्छ ।
हेटाैडा, मकवानपुर
