डा. दिव्य- प्रियंवदा
१.
यतिखेर आकाश खुलेको छैन
केहीमा पनि मन भुलेको छैन
पतझडको साम्राज्य चलेको छ
कुनै प्रेमको कुसुम फुलेको छैन ।
२.
आफै बर्बाद भएँ अतीव प्रेमको चाह हुनाले
जो सित थियो उसैको पहिल्यै विवाह हुनाले
आवाद बर्बाद नश्वर हो भ्रम हो बुझ्न खोज्दा
सकिन मनमा विरह दावानलको दाह हुनाले ।
३.
जीवनमा सबैथोक भुलेर मन चिल हुन खोज्छ
तर दुखेको घाउ पुरानो भएर खील हुन खोज्छ
नचाहेर पनि यादमा रहन्छन् दुखाउने मायाहरू
अब घोच्ने सुइरा झिक्दै मन हील हुन खोज्छ ।
४.
मैले त हृदयभित्र राखेकी थिएँ
मुटुको ढुकढुकीमा छामेकी थिएँ
तर्र कसरी तिमी डिल फोरेर झर्यौ
दृगमा बलियो बाध बाधेकी थिएँ ।
५.
कपालको रङले उमेर जाहेर गरेको बेला
नश्वर मायाले मनमा वैराग्य भरेको बेला
तिमी माया नै मायाको कुरा गर्न न आउनू
प्रकाशले डोरीमा सर्पको भ्रम हरेको बेला ।
काठमाडाै

