- शारदा पौडेल निशा
अफिसको कोठामा फाइलहरूमा अल्मिलिएकी थिएँ । श्रीधर सुब्बा साहेब अँध्यारो अनुहार लगाएर कोठाभित्र आए । मैले उनको अँध्यारो अनुहार लगाएको देखेर सोधेँ — सुब्बा साहेब, के आपत पर्यो हजुरलाई ? अनुहार एक दम उडेको छ तपाईँको ?
उनले अँध्यारो अनुहार बनाउँदै मलाई भने — हाकिम साब, केही दिनको छुट्टी चाहिएको छ । मलाई जसरी पनि घर जानुपर्ने भयो । छुट्टी दिन सक्नुहुन्छ ?
मैले सहज तरिकाले सोधेँ — किन र सुब्बा साहेब ? एक महिना पनि भएको छैन । तपाई घरमा पुगेर आउनुभएको । होइन अहिले नै जानू पर्ने के त्यस्तो पर्यो र ??
उनले उत्तर दिए — छोरीले गु खाइछ सर । हाम्रो ईज्जत खोलामा बगाइदिने भइछ। नाक काट्न आँटिछ ।
मलाई के कुरा रहेछ भनेर जान्न मन लाग्यो र पुनः सोधेँ — के गरी र तपाईँकी छोरीले ?
उनले भने — ऊ तल्लोजातसँग बिहे गर्छु भनेर अड्डी लिएर बसेकी छे । उसैको गर्भधारण गरिसकेकी छ रे । उसैको पाप सल्बलाउन थालेको छ अरे । म गएर त्यो पाप फालिदिनु पर्यो र अर्को कुलघरानको केटा खोजेर बिहे गरिदिनु पर्यो । मलाई यो काम गर्न पक्कै पनि केही दिन लाग्छ होला ।
मैले उनलाई भनेँ — सुब्बा साहेब, तपाईँ यति धेरै पढेलेखेको हुनुहुन्छ । यो सारा दुनियाँ देख्नुभएको हुनुहुन्छ । हजुरले पनि अहिलेको युगमा यस्तो कुरा गर्न सुहाउँछ ? छोरीको रोजाईलाई सहर्ष स्वीकार गर्नुपर्दछ । छोरीको जीवन सफल होस् , छोरी खुशी होस् भन्ने सोच्नुपर्दछ ।
अहिले आएर त हजुरले छोरीको रोजाईलाई स्वीकार गर्न सक्नुभएन भने झन् अनपढ मेरा बुबा आमाले किन स्वीकार गर्न सक्नुहुन्थ्यो । त्यतिबेला उहाँहरुले ममाथि गरेको व्यवहार ठीक रहेछ।उहाँको सोच ठीक रहेछ भन्ने कल्पना गर्दैछु ।
उनले भावुक मुद्रामा भने – “हजुर माथि के भएको थियो र ? हजुरको पनि अन्तर्जातिय विवाह हो र ? ”
” हजुर हो ।
मेरो उत्तर सुनेर उनी तिल्मिलाउन थाले । अनि भने — हजुर यति उच्च पदमा हुनुहुन्छ । सम्मानित हुनुहुन्छ । समाजमा हजुरको प्रभाव छ । तर त्यस्तो के भएको थियो र हाकिम साहेब हजुरसँग ??
उनलाई सम्झाउने हेतुले पनि मेरो अतीत भन्न मन लाग्यो र भनेँ -” मेरो र तपाईँको छोरीको कथा मिल्दोजुल्दो छ सर । यदि सुन्नु हुन्छ भने म भन्नेछु । मेरो कथाले पनि तपाईँलाई छोरीप्रति के गर्ने भनेर सूत्र फेला पर्न सक्छ ।
सुब्बा साहेबले भने —हुन्छ भन्नुहोस् न सुन्छु ।
हवस् सुन्नुहोस् । १६ वर्षको उमेरका नै मैले हरिलालसँग प्रेम गरेकी थिएँ । ऊ पनि जम्मा १८ वर्षको थियो । ऊ हाम्रो घरमा काम गर्ने हलीदाइको छोरा थियो । उसले मलाई अति माया गर्दथ्यो । मानौँ उसको मुटुभन्दा पनि आगर । त्यही मायाका रन्कामा भनूँ वा बहकाइमा भनूँ । या चढ्दै गरेको उमेरको तृष्णाले भनूँ हामी बीच गहिरो माया बस्न थाल्यो । त्यही मायाको परिणाम स्वरुप हामी यति गहिराइमा डुब्यौँ कि आफैंलाई पत्तै भएन । मायामा मदहोस् भएका थियौँ । यही मदहोसी पनले हामीलाई सहवाससम्म पुर्याएको थियो । यो समाज हाम्रो अनुकुल छैन भन्ने कुरा पनि हाम्रो प्रेमले बिर्साएको थियो । त्यसैले हामी भाग्ने तयारीमा थियौँ । प्रेममा यस्तो हुँदो रहेछ नै । तर हाम्रो प्रेम एककान दोकान हुँदै समाजभर फैलिएछ । घरमा बाआमालाई पनि थाहा भएछ ।
एकछिन मेरो बोली अवरुद्ध भयो । बोल्नै सकिन । आँखा रसिला भए । मन अमिलो भयो । यस्ता अतीतले सबैलाई भावुक बनाउँछ नै ।
मेरो भावुकतालाई चिर्दै उहाँले भन्नुभयो -” अनि त्यसपछि के भयो त ? बुबाआमाले स्वीकार गर्नुभयो ? “
” नाइँ गर्नुभएन । गरेको भए त यसरी किन भावुक बन्दथेँ र ? ” – मैले भनेँ ।
” अनि के भयो भन्नुहोस् न ?” – उहाँले भन्नुभयो ।
बुबाआमाले थाहा पाएपछि पनि हामीले भेट गर्यौँ । र त्यही रात भाग्ने बाचा गरेर छुट्टिएका थियौँ ।
भोलिपल्ट बिहान उठेर म हामीले भेट्ने भनेको ठाउँमा गएँ । हरिलाल त्यहाँ थिएन । केहीबेरसम्म कुरेँ ऊ आएन । म हरिलाल बस्ने घरमा गएँ । घरमा कोही पनि थिएनन् । मतलब उसको परिवारै थिएन । पछि थाहा पाएँ कि त्यो परिवारलाई मेरा बाआमाले धाकधम्की देखाएर अर्कै गाउँतिर धपाउनुभएछ। उनीहरुको परिवारलाई खर्चपानी नै दिएर धपाउनुभएको रे भन्ने कुरा पछि थाहा पाएकी थिएँ ।
” त्यसपछि के गर्नुभयो त ? ” उहाँले उत्सुकतापूर्वक सोध्नुभयो ।
त्यसपछि म रोएँ । कराएँ । चिच्याएँ । ऊ विना बाँच्न सक्दिन भनेर विलाप गरेँ । बुबाआमालाई हात जोडेर बिन्ती गरेँ । मेरो पेटभित्र हरिलालको बच्चा खेल्न थालेको थियो । त्यस्तो बेलामा ऊ विना म कसरी बाँच्न सक्थेँ र आफैँ सोच्नुहोस् त भन्दै एकछिन रोकिएँ ।
हुन त अहिले हजुरले भनेको सुन्दा ठीकै लाग्यो । किनकि त्यतिबेलाको अशिक्षित समाज कति क्रुर थियो । त्यहीँमाथि मेरा अनपढ बुबाआमाले कसरी सहन गर्न सक्नुहुन्थ्यो र ?
रुँदै मेरा दिन बितिरहेका थिए । त्यसैबीच एक दिन आमाले मलाई भन्नुभयो — ” छोरी उमेर छँदै बिहे गर्नुपर्छ । उमेर गएसी बूढी भन्छन् । र बिहे गर्न पनि गाह्रो हुन्छ । छोरीको बिहे गर्न सकेनन् भनेर गाउँलेले कुरा काट्छन् । हामीलाई पनि चिन्ता हुन्छ । त्यसैले राम्रो घरबाट कुरा आएको छ । केटो राम्रो छ । जागिर पनि खाएको छ । आखिर छोरीको जात एकदिन पराइको घर जानै पर्छ । “
आमाको कुरा सुनेपछि मलाई रिंगटा लाग्यो । संसार नै एकनासले घुमिरहे जस्तो लाग्यो । त्यसैले मैले भनेँ -“अहिले बिहे गर्दिन आमा । धेरै पढेर आफ्नै खुट्टामा उभिएर स्वतन्त्र जीवन जिउन चाहन्छु ।“
“ अब नगरे कहिले गर्ने हो त ? कि बूढीकन्या बस्ने विचार छ र ? उल्टै प्रश्न गर्नु भयो ।
आमाले प्रयोग गर्नुभएको बुढिकन्या शब्द नमिठो लाग्यो । वास्तवमा म कसैकी भइसकेकी थिएँ । त्यसैले आमालाई तत्कालै जवाफ दिएँ — आमा,म बूढिकन्या होइन । मेरो पेटभित्र हरिलालको बच्चा हुर्किँदैछ । मेरो कुरा सुनेर आमा आगो हुनुभयो । उहाँको संसारमा पहाड खस्यो । उहाँको नाकमा दाग लाग्यो । ईज्जत खान्दान सबका सब चौपट भयो । एकछिन पुनः रोकिएँ र फेरि भनेँ ।
त्यसपछि आमाले मलाई फकाउँदै भन्नुभयो —” छोरी, त्यो कुजातको गर्भ फालिदेऊ । कसैलाई पनि थाहा नदेऊ । हामी भोलि नै सहर गएर गर्भपतन गराउनुपर्छ र केही महिनापछि बिहे गर्नुपर्छ । बिहेको कुरा आएकै छ । केटो राम्रो छ । त्यसैसँग तेरो बिहे गर्नु पर्छ । हामीले यो कुरा गुपचुप राख्नुपर्छ, बुझिस् ।”
आमाका कुरा सुनेपछि मैले भनेँ — “आमा, म गर्भपतन गराउँदिन । यो निर्पराधी भ्रुणको हत्या गर्दिन । यो बच्चाको के दोष छ र ? हरिलाललाई हजुरहरुले जहाँ लखटेपनि म उसको प्रेमको चिनोलाई मेरैसाथ राख्नेछु । बिहे नगरीकन यसैलाई पाल्नेछु । मेरा कुरा सुनेपछि आमा आगो हुँदै भन्नुभयो -” तैंले गर्भपतन गरिनस् र बिहे गरिनस् भने यो घरमा बस्न पाउँदिनस् । “
मैले बिहेपछि लोग्नेमान्छेसँग भोग्नु परेका कष्टकर समय देखेकी थिएँ सुनेकी थिएँ । आफूले भोगेका कष्टकर समय आमाहरुले सहज रुपमा बिर्सन्छन् । र आफ्नै छोरीलाई बिहेको लागि दबाब दिन्छन् । मेरा मनभरि यस्तै प्रश्नहरु उब्जिरहेका थिए । आमा चुप बस्नु भएको थियो ।
मलाई बिहे गर्नुथिएन तैपनि मैले आमालाई भनेँ -” आमा हजुरलाई एउटा कुरा सोधौँ ?”
“हुन्छ सोध के सोध्न मन लागेको छ “। आमा रीसले चूर हुँदै भन्नु भयो ।
आमाको अनुमति पाएपछि सोधेँ -” हजुरले बिहे गरेर कहिल्यै सुख, शान्ति , स्वतन्त्रता र आफ्नो हकअधिकार जस्ता कुराहरु पाउनु भयो?”
“पाएकी छु।, देखिनस् के कति पाएँ । तँलाई र तेरो भाइलाई पाएँ । घरव्यवहार हेरेँ । तेरा बाबुको कहर काटेँ ।“ आमाले एक श्वासमा भन्नु भयो ।
त्यो बेलामा मैले सोचेँ । कठै !!! मेरी आमा बिहे गरेर छोराछोरी जन्माउनु नै सफल जीवन ठान्नु हुन्छ । हुर्केपछि बिहे गर्यो , लोग्नेलाई देवता मान्यो । सधैँभर उसैको चरणकमलमा पर्यो । आज्ञाकारी भयो । जे भन्छ त्यही मान्यो । गाली गरोस् अथवा चुटोस् सहेर बस्यो । उसको मनोरथ पूरा गर्यो । गर्भ बोक्यो । छोराछोरी जन्मायो । उनैलाई हुर्कायो । बिहेदान गर्यो । नातिनातिना भन्यो घोटियो । काम गर्दागर्दै शरीर रोगी बनायो ।
मेरा मनमा यस्तै जिज्ञाशाहरू खेल्न थाले । के आमाको जस्तो जीवन नै आदर्श जीवन हो त ? बिहे गर्ने बोक्ने ब्याउनेभित्र नै जीवनको सार लुकेको हुन्छ त ? कुनै छोरी मान्छेले बिहे नगरिकन बस्दा फेरि यो समाजलाई के को आपत्ति पर्ने रहेछ ? कसैले बिहे गर्न नचाहनुमा समाजको के को टाउको दुखाइ ? थोत्रा गाला बजाएर कुरा काट्नलाई किन अग्रसर ?
अनि मैले आमालाई भनेँ — बिहे नगरिकन बस्छु म आमा । हेर्छु म पनि । के के भन्दो रहेछ समाजले ? गर्दिनँ बिहे सिहे । हरिलालको बच्चा जन्माएर यही समाजमा बस्छु । मान्दिन कुनै लोग्नेमान्छेको जातलाई देवताको स्वरुप । के छोरी मान्छे यहाँ स्वतन्त्र भएर बाँच्न नपाउनु ?
मेरा कुराले आमा एक दम उदाश हुनु भयो । अनि भन्नु भयो — ” त्यो कुजातको गर्भ फाल्नै पर्छ छोरी । अनि आइमाईको जीवनमा एउटा लोग्नेमान्छे चाहिन्छ नै । समाज ईज्जत प्रतिष्ठा माटोमा नमिला छोरी । बिन्ती छ ।”
एउटा लोग्नेमान्छे चाहिने कुरा गरेपछि मलाई एक दम रिस उठ्यो । अनि मैले आमालाई भनेँ — ” भो आमा मलाई लोग्नेमान्छेका कुरा नसुनाउनु । महिलालाई बलात्कार गर्ने पनि लोग्नेमान्छे हुन् । महिला बलात्कृत भई भने पनि उसैको खेदो खन्ने लोग्ने मान्छे हुन् । घरभरि छोराछोरी छन् हट्टाकट्टा रुपले भरिपूर्ण श्रीमती छ भने पनि बाहिर केटी ताक्दै हिँड्ने लोग्ने मान्छे हुन् । मेरो प्रेमलाई डाँडा कटाउने पनि मेरै बुबा लोग्नेमान्छे हुन् । के सोच्छ यो लोग्ने मान्छेको जातले आफूलाई ? आईमाईलाई किन खेलौना सम्झन्छ र फेरि फेरि जतिखेर पायो उतिखेर खेल्न चाहन्छ ? म गर्दिनँ बिहे । र फाल्दिनँ यो गर्भ पनि ।”
मेरो कुरा सुनेर आमा छक्क पर्नु भयो । समस्या झन् चर्कँदै थियो ।
चर्कँदै गरेको वातावरणमा मैले आमासँग फेरि सोधेँ — ” आमा , भन्नुहोस् त डाक्टरले माथ्लाघरे ठूल्दाइलाई नपुंसक भनेको छ । तरपनि उनले सन्तान जन्माउने भन्दै भित्र्याएका ती तीनवटी भाउजुहरुलाई पनि त सन्तान जन्माउने रहर थियो होला । तिनीहरुले अरु लोग्नेमान्छेसँग संभोग गरेर बच्चा जन्माउन पाउनु पर्ने हो । ती भाउजूहरुको मन हुँदैन ? सन्तान खेलाउने रहर हुँदैन । किन कुनै योग्य लोग्नेमान्छेसँग संभोग गर्ने अधिकार दिइँदैन तिनीहरूलाई ?? ठुल्दाइले सक्दा सक्नुपर्थो भाउजुहरुले पनि । खै सकेको ?
आमा चुप लाग्नु भयो । रात पर्यो । मलाई निद आइरहेको थिएन । मनमा कुराहरू खेलिरहेका थिए । बुबाआमाको कोठाबाट आवाज आइरहेको थियो । आमा भन्दै हुनुहुन्थ्यो — के गर्ने नानीका बा ? यो छोरीले त गुहु खाइसकिछ । त्यो हरिलालेको बच्चा छरे त्यसको पेटमा । हामीले त यसो मायापिरति मात्र होला भन्ठानेका थियौँ । माया गहिरो हुन नदिनको लागि उनीहरूको परिवारैलाई डाँडा कटायौँ । तर अब के गर्ने? त्यो पेटको बच्चा पो घाँडो हुनेभयो ।
गर्भपतन गराऊँ भनेर कति सम्झाएँ । मान्दै मान्दिन । अब पो के गर्ने होला ?
बुबा एक छिन् चुप लाग्नु भयो । म साउती मारेर सुनिरहेकी थिएँ । एक छिनपछि बुबा सुस्तरी बोल्नु भयो — चुपचाप बस्नु पर्छ । त्यसले फकाएर मान्दिन भने जबर्जस्ती अस्पताल पुर्याएर पनि त्यसको त्यो भ्रूण हत्या गर्नुपर्छ । तर यसको छनक त्यसलाई दिन हुँदैन है । आजैदेखि त्यसको कोठामा भोटे चाल्चा मार्नुपर्छ । आमाबुबाको कुरा सुनेर मेरो मनमा भुइँचालो गयो ।
केहीछिन पछि आमा ताल्चा बोकेर मेरो कोठामा आउनु भयो र कर्कश स्वरले भन्नु भयो — उसबेला देखि यहीँ बसेर के गरेकी छस् “ अनि मैले पनि चाल चलेँ र भनेँ — आमा, मैले खुव सोचेँ । मलाई आफूले गल्ती गरेको महसुस भयो । अब हुजुरहरूले भनेको ठाउँमा गएर गर्भपतन गर्छु र हजुरहरुले नै खोज्नु भएको लोग्ने मान्छेसँग बिहे गर्छु ।
मेरो कुरा सुनेर आमाले सन्तोषको श्वास फेर्नु भयो । बुबालाई पनि बोलाएर मेरा कुरा सुनाउनु भयो । बुबा पनि खुसी हुनुभयो । अनि मेरो कोठामा ताला लागेन । बुबाआमा बाहिरिएपछि मेरा मनमा हुँडरी पस्यो । मसँग हरिलालको प्रेमको निसानी थियो । म उसलाई मार्ने पक्षमा थिइनँ । भ्रुणको के गल्ती थियो र ? यो भ्रुणलाई मैले जन्म दिनैपर्छ र यसले धर्तीमा स्वतन्त्रतासँग बाँच्न पाउनुपर्छ सोचेँ । यति भनिसक्दा मेरा आँखा आँसुले टिलपपल भएका थिए । हरिलालको चोखो माया सम्झेर मन छियाछिया भएको थियो । एकछिन रोकिँदै फेरि भन्न थालेँ ।
हेर्नुहोस् सर , त्यसपछि मैले एउटा झोलामा आफ्ना कपडा हालेँ । र अलिकति पैसा आमाको आल्मारीबाट चोरेँ । बिरालाको चालमा ढोका खोलेँ । ढोकालाई सुस्तरी ढप्क्याएँ र बाहिर निस्केँ । बिहानको ३ बजेको थियो । कुकुरहरू भुकिरहेका थिए । निकै अँध्यारो थियो । म मूलबाटो जान छोडेर कान्लैकान्ला उँघो झरेकी थिएँ । काठमाडौँ जाने बस भेट्न मेरा घरबाट कुद्दा पनि ३ घण्टा लाग्थ्यो । तर म यसरी बतासिएकी थिएँ कि २ घण्टामा पुगेँ । काठमाडौँ जाने बस लागिरहेको रहेछ । टिकट काटेर म खुरुक्क बसभित्र पसेँ ।
सर अहिले तपाईँ मेरो जुन छोरा देख्नुभएको छ नि त्यो हरिलालको निशानी हो । हरिलालको मायारुपी सौगात हो । हरिलाल र मेरो प्रेम कहानीको दस्तावेज हो ।
“अनि बाबुको बुवा हरिलाल नै हुनुहुन्छ त ?” उहाँले सोध्नुभयो ।
होइन सर , जुन बाबुको बुवा भनेर चिन्नुहुन्छ नि त्यो व्यक्ति हरिलाल होइन। मेरो यो लोग्ने पहिला इँटाभट्टामा काम गर्नुहुन्थ्यो । म भागेर काठमाडौं आएको कुरा त हजुरलाई भनिसकेँ ।
त्यसरी आउँदा कति दु:ख पाएँ अहिले हजुरलाई बताउन पनि सक्दिन । त्यही दु:खको बेलामा यिनीसँग भेट भयो । मेरो दु:खमा साथ दिने साथी बने । दु:खमा साथ दिने क्रममा केही अगाडि बढियो । दुवै पक्षले आफ्ना सबैकुरा खुलस्त राख्यौँ । दुवैको कुरा दुवैलाई मनासिब लाग्यो र बिहे गर्यौँ । त्यसपछि हामी मिलेर काम गर्न थाल्यौँ । केही आम्दानी गर्यौँ । पढ्यौँ पढायौँ । हजुरलाई थाहा नै छ मेरो लोग्ने पनि सरकारी कार्यालयको हाकिम हुनुहुन्छ ।
सर जीवनमा के के भोगिएन होला र । जे जति भोगे पनि अहिले हामी हाम्रो ठाउँमा ठीक छौँ । जिन्दगीका कान्लाहरु चढ्दाचढ्दै पेटमा बच्चा लिएर एक्लै भाग्दा ओर्लेका कान्लाहरु बिर्सन थालिएछ । तरपनि दौडमा भोगेका कहरहरू भने ताजा छन् । अहिले पनि लाग्दछ, मेरो त्यो अवस्थामा मेरा आमाबुबाले केही सहयोग गरेको भए पनि हुन्थ्यो । केही गर्नुभएन । उहाँहरुले हाम्रोलागि मरिसकी भन्नुहुन्थ्यो । नानाथरीका गाली गलौज गर्नुहुन्थ्यो ।
मलाई कसैले न कसैले सुनाउँथे । म सुन्थेँ र मनमनै भगवानसँग यही पुकार गर्थेँ कि बुढेसकालमा मैले नै उहाँहरुलाई पाल्न परोस् । म खुशीसाथ पाल्नेछु । सर हजुरले मेरा घरमा जुन बूढाबूढी देख्नुहुन्छ नि ती मेरा बुबाआमा हुन् । अहिले बुबाआमाको आँखामा पश्चातापको ज्वाला दन्केको देख्छु । त्यसैले सर हजुरलाई पनि भोलि पश्चाताप नपरोस् । छोरीको रोजाईलाई खुशीसाथ स्वीकार गर्नुहोस् र छोरीलाई साथ दिनुहोस् । जानुहोस् घरमा र छोरीको बिहेको तयारी गर्नुहोस् । हजुरलाई कतिदिन बिदा चाहिन्छ म स्वीकृत गरिदिन्छु ।
मेरा कहरका कथा सुनेर उहाँका आँखा रसाएका थिए । रसाएका आँखालाई रुमालको छेउले पुछ्दै उनले भने — हाकिम साब, हजुरले मेरो आँखा खोलिदिनु भयो । अब म घर जान्छु र हजुरले भने जस्तै गरेर छोरीको रोजाईमा खुशी हुँदै बिहेको तयारी गर्दछु । हाम्रो कारणले कहिले पनि हाम्री छोरी दुखी हुन नपरोस् ।
चितवन हाल स्पेन

