प्रीति आत्रेय ज्ञवाली
मान्छे जे कुरामा पनि
सकारात्मकता खोज्छ
कामको परिणाम
पढाइको नतिजा
व्यक्तिको भरोसा
जुनै पनि आशावादी
कामको लागि
हुन्छ सधैँ सकारात्मक ।
कोरोनाको जाँच गर्दा
आउने रिपोर्टमा भने
सकारात्मक त रहन्छ
तर नतिजा भने
नकारात्मक आओस् नै भन्छ ।
सकारात्मकताको सकारात्मकतामा
पनि भिन्नता छ
किनकि व्यक्तिलाई
बाँच्नु छ यही समाजमा
केही गरी सकारात्मक देखिइहालेपनि
व्यक्तिको आफूप्रति हेर्ने
दृष्टिकोण नै फरक भैदिन्छ
बोली नै फरक भैदिन्छ
र व्यवहार पनि
मानौँ कुनै ठुलो गल्ती नै गरेजस्तो ।
बिचरा !
जो सधैँ सकारात्मकतामा
बाँचिरहेको हुन्छ
ऊ आफैँ आफू
अन्जानवश शिकार भएको
नकारात्मकीय सकारात्मकतामा
आफूलाई पाउँदा
अल्मलिन्छ ।
अनि आफैँ अरूलाई
त्यसको प्रभाव नपरोस् भनी तर्किन्छ
कसैलाई यस्तो नहोस् भन्दै
फेरि सकारात्मक भैदिन्छ
र आफ्नो अर्को परिणाम
नकारात्मक आओस् भन्दै
सकारात्मक हुँदै बस्छ
अचम्मको सकारात्मकता ।
बुटवल हाल कम्बोडिया

