शाेभा शाह थापा
समय
बनेर नदी
अनवरत बगी रहेछ
म किनार बनेर पर्खी रहेछु
के थाहा बगि जानेलाई
पर्खाईको पीडा
अनि
त्यो किनारको कथा व्यथा
साक्षी छ त केवल त्यो बगर जिन्दगी
जो सधैं पीडामा छ
दुखको प्रचण्ड घामले पोलेको बेला
त्यो नदीको शीतल जलले पनि
शीतलता दिन सक्दैन
भएर पास तर दुर
सधैं तड्पिनुको विवशतामा
त्यो बगरको पीडा
म महशुस गरी रहेको छु
वेदनाको अश्रु झरीले रूझेको बेला
कसले छेक्छ र
त्यो आँशुको झरी
रूझ्न विवश त्यो बगर जिन्दगी
पिडामाथि पीडा
बाध्यताको छालले दिने
त्यो धक्का
जुन प्रहार म पनि त छेक्न सक्दिन
मलाई छोएर
एकातिर
कलकलको मिठो धुन छोड्दै
सुस्तरी बगीरहन्छ
समय
बनेर नदी
अविरल बगी रहन्छ
अर्कोतिर
मलाई हेर्दै
उजाड उदास सुती रहन्छ
त्यो बगर जिन्दगी
समय
नदी बनेर बगी रहन्छ
मलाई छोएर
बगर जिन्दगी
उदास सुती रहन्छ
मलाई छोएर
म बिचको किनार ।
हेटाैडा मकवानपुर

