- रचना शर्मा
“ए साहुजी ! के हो ? अचेल त देखभेट नै हरायो नि हाम्रो ! फेसबुकमा बाहेक धेरै समयपछि बल्ल आज होला हाम्रो भेट भएको !”
“हो नि शरण बाबु ! के गर्नु , आ आफ्नो व्यस्तता छ सबैलाई । अनि बुवा आमाको के छ खबर ?”
ठिक छ साहुजी ! बरु एउटा राम्रो टोपी देखाउनुस् न !”
“ल यो हेर भाइ ! राम्रो छ ।”
कतिको हो नि यो ?”
” एकसय पचास पर्छ यसको ।”
“अल्लि राम्रो देखाउनुस् न ! यो त ठिकठिकै लाग्यो ।
” ल भाइ यो लगाउनुस् । यो पूर्वेली ढाका टोपी हो । पाँच सय पर्छ ।” सिसाको र्यागबाट टोपी झिकेर देखाउँदै भने व्यापारीले ।
उसले टोपी लगायो । सुहायो कि सुहाएन भनेर जाँच्नलाई मोबाइल झिकेर सेल्फी खिच्यो ।
“पाल्पाली ढाकाको देखाउनुस् न ! यो पूर्वेली त अलि सुहाएन जस्तो लाग्यो ।”
” बाबु ! पाल्पाली त अझै महंगो छ । हजारदेखि पन्ध्र सयसम्मका छन् ।”
“पैसाको चिन्ता नगर्नुस् न साहुजी ! चित्त बुझे त दुई हजारै पर्ने भए नि किन्छु नि !”
उसको कुरा सुनेर व्यापारी ढुक्क भए र राम्रा राम्रा क्वालिटिका ढाकाटोपी फिंजारेर देखाउन थाले । उसले राम्रो लागेको टोपी रोजेर सेल्फी खिचि जाँच गर्यो ।
” साहुजी ! नरिसाउनु होला । मलाई चित्त बुझेन यी टोपीहरूले । बरू अरु छन् भने देखाउनुहोस् । “
” छैन बाबु अरु त । बरु अन्तै खोज्नुस् ।” यति भनि व्यापारीको ध्यान अरु ग्राहकतिर मोडियो ।
बेलुका फेसबुक हेर्दै जाँदा एउटा स्टाटस र फोटोमा व्यापारीका आँखा टक्क रोकिए । स्टाटसमा लेखिएको थियो , ” मेरो फेब्रेट टोपी ! टोपी दिवसको शुभकामना ! ” कमेन्टमा धेरैले सोधेका थिए , ” शरण यस्तो राम्रो टोपी कहाँबाट किन्यौ ?”
चितवन

