निरु गाैतम
१.
विहान उदाएर साँझ डुब्ने घाम जस्तै रहेछ जिन्दगी
गन्तव्य नपुग्दै हुने सडक जाम जस्तै रहेछ जिन्दगी
हरियाली नवीन वनलाई उजाड – उजाड बनाइदिने
वसन्तको विरोधी शिशिर याम जस्तै रहेछ जिन्दगी ।
२.
तिमीसँगै हिड्ने रहर पुग्छ पुग्दैन
गाउँको मायाँ सहर पुग्छ पुग्दैन
मनको इच्छा मनमै रहने पो हो कि
तिम्रो छेउ प्रेमको नहर पुग्छ पुग्दैन ।
३.
अनेकतामा एकताको सूत्र कसेपछि
सहिष्णुता कति मीठो मनमा बसेपछि
जाति धर्म, संस्कृतिको फूलबारी एकै,
सुगन्ध लिइरहुँ लाग्दो रैछ भित्र पसेपछि ।
४.
फरक सोच फरकै शैली मन पर्छ मेरो
सरल बानी व्यवहारले दिल हर्छ मेरो
फाइँफुट्टी देखाउनेलाई मान्छे गन्दिनँ,
साधु भेषमा चोर भेट्दा मन मर्छ मेरो ।
मोरङ

