गीताश्री शर्मा
मैले मेरै हातहरू
हो ! धेरै हेरें, धेरै पटक मसारें
हेराएँ ज्योतिषीलाई पनि
भने, विद्या रेखा लामु छ,
धेरै पढेर ठूलो मान्छे बन्ने योग छ !
तर,
मैले आफैं नियाल्दा कतै देखिनँ
हत्केलामा भएका सबै रेखाहरू
एक एक गरेर हेर्दा पनि मैले
पटक्कै चिन्नै सकिनँ
विद्या,भाग्य रेखा एउटै देखिनँ।
मेरा हत्केला भरी
अनगिन्ती छन् रेखाहरू
कुन चाहिँ हो धेरै पढ्ने रेखा?
कुन कर्मका ? कुन आयुका ?
भाग्यको कस्तो हुन्छ ?
सन्तान, श्रीमान र सिन्दूर परेको कुन आकारको हुन्छ ?
यी नै रेखाहरू माझ
चार पाँच दशक सम्मै खोजिरहेकी छु
मानवताका रेखाहरू
तर ठम्याउन सकिरहेकी छैन
मेरै हत्केला भित्रका रेखाहरू।
यी रेखाहरूलाई कतै
जात देख्छु सभ्यता देख्दिनँ
अनुहार देख्छु आधुनिकता देख्दिनँ।
हात दली दली मुसारेर हेर्छु
चश्माको पावर मिलाई मिलाई नियाल्दा पनि
हस्तरेखामा हुने समाज देख्छु
तर त्यहाँ पनि समानता पाउँदिन
कहिले काहीँ त उदेक लाग्छ !
त्यो नाकको डाँडीमा चश्मा झुण्ड्याउनेले देखेको
मेरो शिक्षा-दीक्षा, भाग्य-अहोभाग्य, शान्ति-प्रशान्ति
लगन-बिहा, मिलन-बिछोड, उकाली-ओराली
अहँ कतै भेटिनँ, कतै पाइनँ ।
किन चिनिनँ मैले?
मेरै हातमा भएका अनगिन्ती धर्सामाझ
मैले खोजेका रेखाहरू?
अन्धविश्वास, परम्परा, रुढिवादी, कालचक्र
धामीझाँक्री, मशान, बुट्टी-ताबिज
लछेप्रै जताततै भेट्छु
तर !
स्त्री-पुरुष,धनी-गरीब, उँचो-निचो, छोरा-छोरी
समान भएको हस्तरेखा कतै पाउँन सकिनँ ।
यदि हस्तरेखाबाट
मान्छे चिन्न सक्ने भए ,
मान्छे मान्छे नै हो भन्ने किटान गर्न
मतदान अघि नेताको हात
साबुन-पानीले धोइदिएर
सही-गलतको सही निर्क्यौल अवश्य हुने थियो
तर ,
मकै ज्योतिषीले बाहेक अरूले
कसैका हातमा देखेनन्
नेता बन्ने रेखाहरू।
आजसम्म यही हो
जनता र देशको भविष्य
यस्तो हुन्छ भनेर कोरिएका
पाइएनन् हातहरू।
खोजी धेरै गरें,
मेटिन लागेका हस्तरेखादेखि
भरभराउँदा, कलकल गर्ने , खेलाइरहूँ जस्ता
हातहरूमा पनि
तर किन चिनिएनन् त!
बलत्कारी, अत्याचारी, निर्दयी र
घुसखोरी, भ्रष्टाचारी र अन्यायी रेखा ।
किन भन्न सकेनन् ?
हात हेरेर भविष्य बताउनेहरूले?
परिपक्व, दूधको दूध, पानीको पानी
जलेवाले जस्तो छुट्याउन
सकेनन् किन ?
हे दाता ! हे विधाता !! हे परमेश्वर !!!
यदि हस्तरेखाहरू तिमी कोर्छौ भने
नकोर अब
दाइजो नपाउँदा कतै
छोरीचेली जिउँदै जलाउने हातका रेखाहरू।
नबनाऊ अब
न्याय दिन नसक्ने हस्तरेखा
हे दयानिधन! हे करूणाराशि!
सम्पूर्ण चराचर जगतका
अमानवीय हातका रेखाहरू नबनाएर
कोरा कागज जस्तो राखिदिनू
ता कि आफैँ कोर्न सकुन !
अनि आफैँ हेर्न सकुन्
आउने पिँढीहरूले
आफ्नै हातका रेखाहरू।
गान्तोक, सिक्किम

