प्रीति आत्रेय ज्ञवाली
१.
कसले बोल्यो के पो गर्यो कसरी कहाँ भन्दा भन्दै
हिजो-आज-भोलि भन्दै दिन घट्दैछ गन्दा गन्दै
किन यहाँ व्यक्ति प्राय: अर्काको नै कुरा गर्छन्
आफ्नो खेत बाँझै हुन्छ अरूको खोइरो खन्दा खन्दै ।
२.
सानो छँदा बुवाले भनेका अघि बढेका कुरा सबै ताजा भए
उद्देश्य लिई सिँढीका खुड्किला चढेका कुरा सबै ताजा भए
हाम्रो निम्ति बुवा हजुरले दिनरात नभनी हाडछाला घोटेको,
आफैँ आमा बनी सन्तान पढाउँदा पढेका कुरा सबै ताजा भए ।
३.
खुशी ता व्यक्ति नै हुन्छ स्वतन्त्र भै रमाउन
बोझ ता उसले सोच्छ परतन्त्र निभाउन
तापनि हुन्छ यो तुष्ट बस्छ निर्भर नै भई,
मग्न भै कैद यो हुन्छ मोबाइल चलाउन।
४.
समय र परिस्थिति अनुसार बेला फेरिन्छ यहाँ
कहिलेकाहिँ समयको मागले भेला भईन्छ यहाँ
माया-सम्बन्ध-व्यवहारलाई मात्र स्वार्थले हेर्ने,
थरिथरि नियतका मानिसको फेला परिन्छ यहाँ ।
५.
छैन कुनै मोल आँसुको यहाँ कुनै बजारमा
त्यस्तै पाइन्न किन्न हाँसो यहाँ कुनै हजारमा
अमूल्य छन् दुवै आँसु-हाँसो भन्ने कुरा हजुर,
बिक्री हुन्न किन्न पाइन्न पानीजस्तो कुनै जारमा ।
बुटवल हाल न्होम पेन्ह, कम्बोडिया

