- मिसु श्रेष्ठ `
श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त । ´यो श्रीमतीको आरोप थियो ।` काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरी काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र? ´ श्रीमानको स्पष्टोक्ति `
दिनभरि घरको नदेखिने काम हुन्छ । एकछिन फुर्सद हुन्न । छोराछोरीले हैरान गर्छन् । श्रीमान आउलान् र दु: ख सुखका कुरा गरौला, घरमा यसो सघाउलान् भन्यो । मोबाइलमा बोल्दै आउँछन् । जतिखेर पनि कानमा इयरफोन हुन्छ । खाएर हात चुठेर एक शब्द बोल्दैनन् । न बच्चाहरूलाई वास्ता गर्छन् । ´ श्रीमती रिसाउँदै बोलिन्
“अनि खर्च पर्च चाहिँ ? ” तेस्रो व्यक्तिले सोधे। ” मेरो कमाईको प्रायः सम्पूर्ण हिस्सा यिनीलाई नै बुझाउँछु। जसरी खर्च गरेपनि केही खोजी गर्दिन। ” ” अनि ? ” तेस्रो व्यक्तिले श्रीमतीतिर पुलुक्क हेरे।` खर्च मात्र भएर हुन्छ ? ममा भूँडीमात्र होइन मन पनि छ। तपाईंको छैन ? ´ प्रतिप्रश्न गर्छिन् । यस्तै ठाकठुक पर्दापर्दै एकले अर्कोलाई निचो देखाउने होडमा आफ्नो गल्ती महसुस भएपनि स्वीकार्न नचाहँदा अन्ततः सम्बन्ध विच्छेद गर्न तयार भए ।
अदालतको कठघरामा उभिएका श्रीमान- श्रीमती एकअर्कालाई घुर्दै हेर्दै खुच्चिङ्गको भाव झल्काउँथे अनुहारमा । वकिलहरुको पर्खाइमा विलम्ब हुँदै थियो । प्राङ्गणमा हल्लाखल्ला सँगै भीड बढ्न थाल्यो । उनीहरू पनि बाहिर निस्के । वकिलहरुको कुटाकुट र हानाहान हुँदै थियो । श्रीमतीको नजिकै पुगे झगडियाहरु । उनी आँत्तिएर चिच्याउँदै श्रीमानको खोजी गर्न थालिन् । श्रीमानले उनको पूरानो समस्या सम्झ्यो । श्रीमतीलाई जोडले आलिङ्गनमा बाँध्यो । श्रीमती भक्कानिएर रोइन्। उनीहरु भीड देखि अलप भए । ” जसको पक्ष विपक्षमा यो लडाइँ हुँदैछ तिनै बेपत्ता ? ” भीडबाट आवाज सुनियो ।
दोलखा, हाल – काँडाघारी , काठमाडौं

